तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बस दुर्घटना : गम्भीर घाइते छ जनालाई काठमाडौँ पठाइयो

नुवाकोट।रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेकोे बस बिहिवार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये अवस्था गम्भीर भएका छ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको त्रिशूली अस्पतालका निमित्त निर्देशक सन्देशराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १४ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

घाइते भएकामध्ये अधिकांशको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । तीमध्ये अवस्था सामान्य रहेका पाँच जनालाई घर पठाइने र बाँकीलाई भर्ना गरिने डा उपाध्यायले जानकारी दिनुभयो ।

रसुवाको गत्लाङबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४३५ नम्बरको बस बिहिवार अपराह्न लहरेपौवामा दुर्घटना भएको रसुवा प्रहरीले जनाएको छ । ओरालो र घुम्ती सडक तथा पानी परिरहेको समयमा गति तीव्र भएकाले बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

दुर्घटनापश्चात सडकबाट ३० मिटर तल पुगेको बस लहरेपौवास्थित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको घरको आडमा पुगेर रोकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button