तपाईँ सुन्दै हुनुहुन्छः

फास्ट ट्र्याक तोकिएकै समयमा सकिने

काठमाडौँ । नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौँँ तराई -मधेस द्रुत मार्ग निर्माणको काम तोकिएकै समयमा सकिने जनाएको छ । 

राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा रक्षा मन्त्री मानवीर राईले फास्ट ट्र्याक बनाउने क्रममा खोकनामा देखिएको समस्या समाधान भइसकेकाले तोकिएकै समयमा काम सकिने जानकारी गराउनुभयो । 

मन्त्री राईले खोकनावासीसँग छलफल गरी  ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका स्थानलाई छलेर फास्ट ट्र्याक निर्माण प्रक्रिया अघि बढाइएको जनाउनुभयो । 

सरकारले हेटौडा कपडा उद्योग संचालान गर्न नेपाली सेनालाई दिने विषयमा उद्योग मन्त्रालयसँग छलफल भइरहेको भन्दै मन्त्री राईले बन्द अवस्थामा रहेका विभिन्न उद्योगहरू पनि सेनालाई सञ्चालन गर्न दिनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा प्रधान सेनापति अशोकराज सिग्देलले द्रुत  मार्गको ४३ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । 

प्रधानसेनापति सिग्देलले द्रुतमार्ग आयोजनाको अप्ठ्यारा कामहरू सकिएको जानकारी दिँदै बाँकी सजिला कामहरू तीव्र गतिमा निर्माण अघि बढाइने बताउनुभयो । 

नेपाली सेनाले २०७८ सालमा निर्माण सुरु गरेको काठमाडौँ तराई-मधेस द्रुत मार्ग निर्माणको समय सीमा २०८३ चैत मसान्तसम्म रहेको छ भने अनुमानित  लागत २ खर्ब, ११ अर्ब ९३ करोड रहेको छ । 

कूल ७० दशमलव ९७७  किलोमिटर लम्बाइ रहेको काठमाडौँ तराई-मधेस द्रुत मार्ग निर्माण गरिँदा सात स्थानमा सुरुङ मार्ग, ८९ स्थानमा पुल, २ स्थानमा  विश्राम स्थल बनाउने गरी डिपिआर स्वीकृत भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button