जीवन निर्वाहको प्रमुख आधार मिश्रित खेती
मुगु। हिमाली जिल्ला मुगुका किसानहरू अहिले पनि पुस्तौँदेखिको परम्परा अनुसार एउटै जमिनमा दुई वा दुईभन्दा बढी बाली सँगै खेती गर्ने प्रचलनलाई निरन्तरता दिइरहेका छन्।

आधुनिक प्रविधि र बजारमुखी खेती विस्तार हुँदै गए पनि यहाँको भौगोलिक अवस्था, मौसमको प्रकृति र जीवनशैलीका कारण मिश्रित खेती अझै पनि जीवन निर्वाहको आधार बनेको छ।
पाखो खेतमा धानसँगै तिल, भटमास, मकैसँगै कोदो, आलु,फापर वा तोरी लगाउने परम्परा यहाँ सामान्य छ। यसरी खेती गर्दा जमिनको उब्जाउ शक्ति लामो समयसम्म जोगिने, रोग–कीराको प्रकोप घट्ने र एउटै समयमा अन्न, दलहन तथा तेलहन बाली उत्पादन हुने भएकाले किसानहरूलाई खाद्यान्न र पोषण दुवैमा सहयोग पुग्छ।
स्थानीय कृषक शिक्षक एवं कृषक रङ्ग बहादुर कार्कीका अनुसार, “मिश्रित खेतीले एकातिर जमिनको सदुपयोग हुन्छ, अर्कोतिर बालीबिचको पारस्परिक लाभका कारण उत्पादनमा कमी आउँदैन। हामीलाई बजारबाट किन्ने झन्झट पनि घट्छ।”
सिपा हितान, वडा नं १ छायाँनाथरारा नगरपालिका, भन्छन्, “ धेरै पहिले देखिनै यस्तो खेती हुँदै आएको हो। हामीसँग ठुला जमिन छैनन्, त्यही भएर एउटै खेतमा धेरै बाली लगाउँदा खानपिनको अभाव हुँदैन। माछा, मासु नखानेले पनि भटमास, तिलजस्ता बालीबाट तेल र प्रोटिन पाउँछन्।”

सोही वडाकी अर्की कृषक झुप्री नेपालीले भनिन्, “मकैसँगै कोदो र फापर लगाउँदा एकै चोटि चामल, रोटी, ढिँडो सबैको व्यवस्था हुन्छ। मौसम पनि चाँडै बदलिने हुँदा एउटै बालीमा भर पर्नु जोखिम हुन्छ, त्यसैले मिश्रित खेती नै सुरक्षित हो।”
कृषि प्राविधिकहरूका अनुसार, हिमाली भेगमा समय, तापक्रम र पानीको उपलब्धता सीमित हुने भएकाले मिश्रित खेतीजस्तो परम्परागत प्रणाली अझै पनि उपयुक्त छ। यसले प्राकृतिक स्रोतको सही उपयोग गर्ने मात्र होइन, विपद्को समयमा खाद्य सुरक्षा कायम राख्न पनि मद्दत पुर्याउँछ।
प्रतिक्रिया राख्नुहोस्