तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो,आजदेखि जनकपुरधामको बजारका पसल खुल्न थाले

ललितपुर ।  जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः०० बजेदेखि निषेधाज्ञा हटाइएको हो । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिनुभयो ।

जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै

यस्तै, जेनजीको प्रदर्शन तथा आन्दोलनका कारण  तनावग्रस्त रहेको मधेस प्रदेशको राजधानी जनकपुरसहित धनुषाको  जनजीवन सामान्य बन्दै गएको छ । साथै सुरक्षा व्यवस्थामा क्रमिक सुधार हुँदै गएको छ ।

आजदेखि जनकपुरधामको बजारका पसल खुल्न थालेका छन् । साथै बजारमा किनमेलका लागि चहलपहल बढेको छ । जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्नेको सङ्ख्या बढ्दै गएको त्यहाँका पुजारीले जनाएका छन् । साथै बजारमा सरकारी गाडीबाहेक निजी तथा भाडाका ठूला र साना सवारीसाधन चल्न थालेका छन् । 

आन्दोलनकारीबाट तोडफोड तथा आगजनी भएका जिल्ला प्रशासन कार्यालय धनुषासहित सरकारी कार्यालय तथा सार्वजनिक भवन एवं मधेस प्रदेश भवनअन्तर्गत रहेका प्रदेश मन्त्रालयका भवनको सरसफाइ भइरहेको छ ।

असुरक्षाका कारण खाली भएका प्रहरी चौकीमा सुरक्षाकर्मी फर्किन थालेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षाको अवस्था सामान्य हुँदै गएकाले आइतबारबाट  सार्वजनिक सेवा अनिवार्य रुपमा सञ्चालन गर्न सूचना जारी गरेको छ । साथै आआफ्नो कार्यालयको क्षति विवरण सङ्कलन तथा प्रमाणित गरी अभिलेख कायम गर्न अनुरोध गरेको सूचनामा जनाइएको छ । जिल्ला प्रशासन कार्यालयको सबै सेवा सुरु भए पनि राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा हाल सञ्चालन नहुने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालद्वारा सूचनामा उल्लेख गरिएको छ । 

सार्वजनिकस्थल तथा सार्वजनिक कार्यालयमा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा खटिएका छन् । जेनजीको आन्दोलनमा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा सार्वजनिक र राजनीतिक दलका नेता तथा पार्टीका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button