तपाईँ सुन्दै हुनुहुन्छः

तराई मधेशमा महिलाहरूको कठोर व्रत जितिया शुरु

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लामा महिलाहरूले सन्तानको दीर्घायु तथा दिवङ्गत मातृहरूप्रति श्रद्धाभाव प्रकट गर्दै आजदेखि जितिया पर्वको शुरुआत गरेका छन् ।

जितिया पर्व गर्ने व्रती महिलाहरू आज बिहान घर नजिक भएका नदी, तलाउ तथा पोखरीहरूमा स्नान गरेर सोही श्रोतमा नै झिउनी, घिरौला तथा कतिपय ठाउँमा बाँसको पातमा तेल खरी जिमुतवाहन देवतालाई चढाएका छन् । घाटको कार्यक्रम सकेपछि घरमा गएर पुरी, दही, मिष्ठान्न तथा केला जिमुतवाहन देवतालाई अर्पण गरेर प्रसादको रुपमा परिवारका सदस्यहरूलाई खुवाउने चलन रहेको छ ।

आजै विभिन्न परिकारहरू तयार पारेर दिवङ्गत भएका सासुको स्मरणमा पितराइन खुवाउने चलन रहेको छ । व्रतीले पितराइनलाई राम्रो राम्रो परिकारहरू तयार पारेर भोजन गराएर आवश्यकता अनुसार सारी सहितका सामाग्रीहरू दक्षिणा प्रदान गर्ने प्रचलन रहेको छ । यसले दिवङ्गत सासूको आशीर्वाद रहने जनविश्वास रहेको छ ।

पितराइनलाई भोजन गराएपछि जितिया पर्व गर्ने व्रतीले आजका दिन अन्य पर्वहरूमा वर्जित मानिएका प्याज, लहसुन, कोदोको रोटी तथा माछा सहितका परिकारहरू तयार पारेर खाने चलन रहेको छ । जसलाई स्थानीय भाषामा माछा मरुवा भन्ने चलन रहेको छ ।

आज दिन भरि तथा भोली अबेर बिहान ओठगन गर्ने चलन रहेको छ । ओठगनमा च्युरा, दही तथा मिठाई खाने चलन रहेको छ । त्यसपछि उपवास शुरु हुन्छ । भोली दिन रात तथा पर्सिको आधा दिन गरेर करिब ३१ घण्टाको कठोर उपवास शुरु हुनेछ । उपवास अवधिमा घरको तीनका पनि भाँच्न नहुने मान्यता रहेको छ ।

यसका निक्कै सावधानी अपनाउने भएकाले सजगता पूर्व उपवासको समापन गर्ने प्रचलन रहेको छ । जितिया पर्वलाई महिलाहरूको कठोर पर्वको रुपमा लिने चलन रहेको छ । यस पर्वमा आफ्नो सन्तानको दीर्घायु तथा सु–स्वास्थ्यको कामना सहित गर्ने चलन रहेको छ ।

जनकपुरधामको प्रसिद्ध धार्मिक तलाउ गंगासागर, धनुषसागर, रत्नसागर, विहार कुण्ड, अग्नि कुण्ड, दशरथ तलाउ तथा दुग्धमतिमा स्नान गरेर तेल खरी जिमुतवाहन देवतालाई चढाउने महिला व्रतीहरूको बिहान देखि नै भिड देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button