तपाईँ सुन्दै हुनुहुन्छः

नुहाउने क्रममा खोलामा डुबेर दाजुभाइको मृत्यु

वीरगञ्ज। पर्साको ठोरीमा रहेको डेढु खोलामा आज बिहान नुहाउने क्रममा डुबेर एकै घरका दुई नाबालक दाजुभाइको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ठोरी गाउँपालिका वडा नम्बर-२ हनुमाननगरका मनोजय कठायतका छोराहरू ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयवश कठायत रहेका छन् ।

ठोरी गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, आज बिहान विद्यालय जानु अघि घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको ढेडु खोलामा दुवै दाजुभाइ नुहाउन गएका थिए । खोलाको खाल्डोमा जमेको पानीमा नुहाउन पसेका दुवै दाजुभाइको त्यही खाल्डोको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । 

दुवै बालक पानीमा तैरिरहेको अवस्थामा देखिएपछि स्थानीयले उद्धार गरी ठोरीस्थित अस्पतालमा पुर्‍याउँदा त्यहाँका स्वास्थ्यकर्मीले मृत घोषित गरेको लम्सालले बताउनुभयो ।

दुवै बालकको शव पोस्टमार्टमका लागि अहिले वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button