तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारको प्रतिबद्धता: डिजिटल समावेशिताको सुनिश्चितता’

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले देशमा डिजिटल पहुँचको असमानता घटाई डिजिटल समावेशिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे छ ।  

सिंहदरबारमा आज बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री गुरुङले समयअनुसार प्रविधिको विकासका लागि यस आर्थिक वर्षभित्र डिजिटल फ्रेम वर्क २.० लागू गरिने र प्रत्येक वडामा ब्रडब्यान्ड सञ्चालन गर्ने योजना पूरा गर्ने लक्ष्य राखिएको उल्लेख गर्नुभयो ।

मन्त्री गुरुङले सामाजिक सञ्जाल र साइबर सुरक्षा सम्बन्धी विधेयकको तयारी अन्तिम चरणमा पुगेको र सञ्चार नीतिमा समयअनुसार संशोधनको तयारी भइरहेको पनि जानकारी दिनुभयो । 

बैठकमा, सूचना तथा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले एआईको प्रयोग सम्बन्धी नीतिले यसको नैतिक प्रयोग, मानव स्रोतको विकास र सहकार्यमा जोड दिने बताउनुभयो । 

सचिव राधिका अर्यालले डिजिटल शासन, वेबसाइट व्यवस्थापन, डेटा सुरक्षा, र वास्तविक समयमा साइबर आक्रमण अनुगमनमा सुधार भइरहेको तर बजेट अभाव रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button