५० हजार भक्तजनले गरे बडिमालिकाको दर्शन
बाजुरा ।बाजुरामा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका भगवतीको यस वर्ष करिब ५० हजार भक्तजनले दर्शन गरेका छन्। साउन १४ देखि २३ सम्म चलेको मूल पूजा तथा मेलामा नेपालका विभिन्न स्थानसहित भारतबाट पनि दर्शनार्थीहरू आएका थिए।
नेपाल स्काउट, सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाका अनुसार यो अवधिमा करिब ५० हजार भक्तजन बडीमालिका पुगेका थिए। परम्परागत रूपमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि यस वर्ष नयाँ मन्दिर निर्माणको अवसरमा साउन १४ देखि नै ‘नवाह’ (नौ दिनसम्म विशेष धार्मिक अनुष्ठान) सुरु गरिएको थियो।

यस वर्षको मेलाको मुख्य आकर्षण नेपाली सेनाले करिब दुई करोड रुपैयाँको लागतमा निर्माण गरेको प्यागोडा शैलीको कलात्मक मन्दिर रह्यो। भव्य संरचना, उत्कृष्ट शिल्पकला र शान्त वातावरणले भक्तजनहरूलाई दिनभर र रातभर लाइनमा बस्न प्रेरित गरेको थियो। मन्दिर परिसरमा धामी–झाँक्रीको सांस्कृतिक प्रस्तुति, परम्परागत बाजागाजा र भक्तजनको उत्साहपूर्ण सहभागिताले थप रौनक थपेको थियो।
समुद्री सतहबाट ४,२०० मिटरको उचाइमा रहेको बडीमालिका प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अनुपम संगम मानिन्छ। यहाँका त्रिवेणी क्षेत्र, २२ पाटन, विष्णुपानी र धर्मद्वारजस्ता स्थलहरू, रङ्गीचङ्गी फूलले ढाकिएका फाँटहरू, दुर्लभ पशुपन्छी (डाँफे, मुनाल, कस्तुरी) र मनोरम हिमशृङ्खलाहरू यहाँका विशेष आकर्षण हुन्।
धार्मिक विश्वासअनुसार, बडीमालिकाको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने र सन्तान प्राप्त हुने मान्यता रहेको छ। यहाँ परापूर्वकालमा भगवती र महिषासुरबीच युद्ध हुँदा खेतमा रोपिएको धान यथास्थितिमा रहेको किंवदन्ती पनि प्रचलित छ।








प्रतिक्रिया राख्नुहोस्