झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च
बनियानी (झापा)। जिल्लामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१ / ८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएका मध्ये ६८ दशमलव सात प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएको उहाँले बताउनुभयो । आव २०८०÷८१ मा जिल्लामा ७० दशमलव पाँच प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएको कार्यालयको तथ्याङ्क छ ।
चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन । तर, पछिल्लो समय शल्यक्रियाबाट शिशु जन्माउने सङ्ख्या बढेको बढ्यै छ । प्रश्रव पीडा सहन नसक्नु÷नचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारण शल्यक्रियामार्फत प्रसूति गराउने सङ्ख्या वृद्धि हुनुको मुख्य कारण भएको न्यौपानेको भनाइ छ । “निजी अस्पतालमा शल्यक्रियामार्फत नै प्रसूति धेरै हुने गरेको छ”, उहाँले भन्नुभयो, “सरकारी अस्पतालमा अलि कम छ ।”
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डअनुसार प्रसूति गराउने कुल सङ्ख्याको १० देखि १५ प्रतिशत शल्यक्रियामार्फत हुनुलाई सामान्य मानिने बताउनुहुँदै नर्सिङ अधिकृत न्यौपानेले भन्नुभयो, “अहिले महिलाले स्वेच्छाले नै शल्यक्रियामार्फत प्रसूति गराउन चाहन्छन् ।”
‘नर्मल डेलिभरी’बाट जन्मिएको शिशु चाँडै बाहिरी वातावरणमा घुलमिल हुने न्यौपानेले बताउनुभयो । “शल्यक्रिया गरेर निकालिएको शिशुलाई वातावरणमा घुलमिल हुन समय लाग्छ”, उहाँले भन्नुभयो, “शल्यक्रियाबाट जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या हुँदा एनआइसीयूमा राख्नुपर्ने अवस्था आउने गरेको छ ।”
प्रतिक्रिया राख्नुहोस्