तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण कोरियाका पूर्वन्यायमन्त्रीलाई आममाफी दिने तयारी

सियोल । दक्षिण कोरियाका पूर्व न्यायमन्त्रीलाई बाँकी जेल सजाय मिनाहा गर्ने तयारी भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

पूर्व न्यायमन्त्री चो कुकलाई आफ्ना छोराछोरीको कलेज भर्नासम्बन्धी शैक्षिक ठगी गरेको अभियोगमा सजायको आधाभन्दा कम समय मा नै यसै साता माफी दिइने भएको हो ।

शैक्षिक ठगी गरेको अभियोग लाग्नुपूर्व चो कुकलाई सन् २०१९ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिने अनुमान गरिएको थियो ।

चो र उहाँकी पत्नी चुङ क्युङ–सिम दुवैलाई उक्त अभियोगमा दोषी ठहराइयो र क्रमशः दुई र चार वर्षको जेल सजाय सुनाइयो।

सन् २०२३ मा अधिकांश सजाय भुक्तान गरेपछि चुङलाई पेरोलमा रिहा गरिएको थियो । आठ महिनाको जेल जीवनपछि चोलाई शुक्रबार रिहा गर्ने तयारी भइरहेको छ । 

न्यायमन्त्री जुङ सुङ–होले स्वतन्त्रता दिवसको अवसरमा क्षमादानको घोषणा गर्दै सोमबार पत्रकार सम्मेलनमा भन्नुभयो, “राज्यमा उनीहरूको योगदान र अपराधको गम्भीरतालाई ध्यानमा राख्दै हामीले २७ जना प्रमुख सरकारी अधिकारी र राजनीतिज्ञलाई क्षमादानको सूचीमा समावेश गरेका छौँ।”  

पूर्व राष्ट्रपति मून जे–इनका सहयोगी तथा कानुनविद् चोलाई सन् २०१९ मा न्याय मन्त्रालयको नेतृत्व गर्न नियुक्त गरिएको थियो ।

 त्यसको केही समयपछि, उहाँको परिवार शैक्षिक भर्ना घोटालामा फसेको थियो । उहाँहरूलाई सन्तानका लागि कलेजमा भर्ना हुन नक्कली कागजातहरूको प्रयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । 

उहाँलाई अमेरिकी विश्वविद्यालयमा आफ्नो छोरालाई पठाउन दिइएको अनलाइन परीक्षामा नक्कली कागजात प्रयोग गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो।

सियोलको सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले चोलाई सजाय सुनाउँदै भनेको थियो, “चो दम्पतीले कलेजको प्रोफेसरको रूपमा आफ्नो पदको दुरुपयोग गर्दै धेरै वर्षसम्म भर्ना प्रक्रियामा बाधा पुर्याएको र उहाँको अपराधको प्रकृति गम्भीर रहेको उल्लेख छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button