तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश प्रेस रजिस्ट्रार कार्यालयको उद्घाटन

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा गण्डकी प्रदेश प्रेस रजिस्ट्रार कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कार्यालयको सोमबार एक समारोहबिच उद्घाटन गर्दै गण्डकी प्रदेश प्रेस रजिस्ट्रार कार्यालयको स्थापना एक ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसले पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार माध्यमहरूलाई व्यवस्थित गर्दै पत्रकार र सञ्चार संस्था बिचको आपसी विश्वासलाई मजबुत पार्ने गरी काम गर्न प्रदेश प्रेस रजिस्ट्रार कार्यालयलाई उहाँले आग्रह गर्नुभयो । लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको बताउँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवर्द्धनलाई थप व्यवस्थित बनाउन प्रेस रजिस्ट्रार कार्यालयले सहयोग गर्ने जनाउनुभयो ।

उक्त कार्यालय हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवनमा रहेकोले जति सक्दो छिटो अन्य ठाउँमा स्थानान्तरण गर्न उहाँले आग्रह गर्नुभयो । आर्थिक मामिला मन्त्रालयलाई उक्त स्थानबाट यस अघि उहाँको नेतृत्वको सरकारले हटाएको थियो ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा.खगेन्द्रप्रसाद सुवेदीले प्रदेश सरकारले यस संस्थालाई आवश्यक नीति, संरचना र स्रोत साधनका माध्यमबाट सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस रजिस्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी गराउँदै यसले पत्रकारको हकहितको लागि काम गर्ने जनाउनुभयो । उक्त कार्यालय दर्ता र नवीकरणको निकाय मात्र नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्ने अभिभावकीय संस्था हुने उहाँले बताउनुभयो ।

कार्यालयले आमसञ्चार क्षेत्रको वार्षिक योजना तथा कार्यक्रम निर्माण, सञ्चार संस्थाको सञ्चालन अनुमति पत्र प्रदान र नवीकरण, १०० देखि १,००० वाटसम्मको एफ.एम. रेडियोको इजाजत, छापा माध्यम, अनलाइन, टेलिभिजन र केबल वितरकको अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना निर्माण, गुनासोको सुनुवाइ, अनुसन्धान र मूल्याङ्कन, श्रमजीवी पत्रकारको सेवा–सुविधा अनुगमन, पत्रकारको कल्याणकारी कोष, विज्ञ सूची निर्माण, तालिम तथा छात्रवृत्ति समन्वय, लोक कल्याणकारी विज्ञापन वितरण, वर्गीकरण र सिफारिस र प्रदेश सरकार, सञ्चार संस्था तथा पत्रकारबिचको समन्वय जस्ता जिम्मेवारीहरू निर्वाह गर्नेछ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले प्रदेश सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापन खारेज गर्न माग गर्नुभयो । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उक्त कार्यालयले महासङ्घका जस्तै मात्र कार्यक्रम गरे सहयोग नगर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button