बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा
नेपालगन्ज । बाँकेमा यस वर्ष विपद्जन्य घटनाबाट २५ हजार घरधुरीका १ लाख ५० हजार मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ । विपद्बाट ५ हजार घर पूर्ण क्षति हुने आङ्कलन छ । यस्तै १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । मनसुनको समय भएकोले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि हाई अलर्टमा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

यस्तै बाँकेमा स्थानीय सरकारहरूको आपतकालीन कोषमा ४ करोड बढी रकम मौज्दात छ । विपद् पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभका लागि जिल्लाका ८ स्थानीय सरकारहरूले हालसम्म ४ करोड ३२ लाख ७० हजार रुपैयाँ आपतकालीन कोषमा जम्मा गरेका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले १ करोड, राप्तीसोनारी गाउँपालिकाले ९० लाख, बैजनाथ गाउँपालिकाको ८० लाख र खजुराको ५० लाख रुपैयाँ मौज्दात रहेको छ । यस्तै कोहलपुर नगरपालिकाले ४५ लाख ५० हजार, नरैनापुर ४० लाख, जानकी १७ लाख २० हजार र डुडुवाले १० लाख रुपैयाँ जम्मा गरेका छन् ।
फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) को सहयोगमा पिपुल इन निड (पिन_ र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) ले बाँकेका दुई पालिका राप्तीसोनारी र नरैनापुरमा सञ्चालन गरेको उत्थानशीलता, अनुकूलन र समावेशी नेपाल (रेन) परियोजनाको विपद् जोखिम व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय परामर्श बैठकमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
परामर्श बैठकमा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगर, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर प्रमुख राम प्रसाद महतो लगायत सरोकारवाला सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा पिनकी लुम्बिनी प्रदेश प्रमुख समिता पौडेलले परियोजनाबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्