तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा परम्परागत रोपाइँ जात्रा प्रदर्शन

पाल्पा । पाल्पा सदरमुकाम तानसेनका सडक—सडकमा रोपाइँ गरी परम्परागत रोपाइँ जात्रा निकालिएको छ । 

तानसेनमा यस वर्ष तानसेन—७ काजिपौवा बेशी, तानसेन—५ धरमपानी र देवबाणी साधारण तथा संस्कृत माबिले रोपाइँ जात्रा निकाले । जात्रामा हगि, रोपार, बाउसे, खेताला, ठेगारेहरु गीत गाउँदै किसानको भेषमा तानसेन बजारका चोक र गल्ली गल्ली पुगेका थिए । रोपाइँ जात्रामा सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधीहरु समेतको सहभागिता रहेको थियो । 

विगतका वर्षमा भन्दा यस वर्ष तानसेनमा रोपाइँ जात्रा धेरै देखिएको तानसेनका स्थानीय नरेशचन्द्र भट्टराईले बताउनुभयो । “लोप हुनै लागेको रोपाइँ जात्राले तानसेनमा यस वर्ष चहलपहल ल्याएको देख्न पाइयो ।” भट्टराईले भन्नुभयो । 

विशेष गरी पाल्पाका प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरकारी तथा निजी कार्यालयका कर्मचारी, राजनीतिक दलका प्रमुखहरूलाई देखाउनको निम्ति गाउँदेखि रोपाई जात्रा तानसेन बजारमा ल्याउने गरिन्छ । तर पछिल्लो समय खर्च बढी लाग्ने र आम्दानी कम हुने भएकाले रोपाइँ जात्रा कम निस्कने गरेको बेशी टोल विकास संस्था तानसेन ७ का पूर्णबहादुर रानाले बताउनुभयो । यो जात्रा निकाल्न कम्तीमा पनि २ लाख ५० हजार खर्च हुने उहाँले बताउनुभयो । 

जात्रा प्रदर्शनको लागि जिसस, नगरपालिका, उद्योग वाणिज्य सङ्घ तथा व्यापारीहरूले दिएको सहयोगले खर्चको व्यवस्था मिलाउने आयोजकहरूको भनाई छ । पाल्पाको रोपाइँ जात्राको इतिहास ७५र ८० वर्ष पुरानो छ । जात्रा हेर्नको लागि पाल्पासहित स्याङ्जा, गुल्मी, पर्वत, रुपन्देही लगायतका जिल्लाहरूबाट दर्शकहरू आउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button