तपाईँ सुन्दै हुनुहुन्छः

मधेसमा ७६.५४ प्रतिशत धान रोपाइँ

जनकपुरधाम । साउनको दोस्रो साता पछि मधेस प्रदेशका जिल्लाहरूमा वर्षा भएपछि मधेसमा धान रोपाइँले तीव्रता पाएपछि रोपाइँको क्षेत्रफल दुई गुणाले वृद्धि भएको छ ।

प्रदेशभरि साउन १६ गतेदेखि २३ गतेसम्मको सात दिनको अवधिमा धान रोपाइँ क्षेत्रफल ३३.८१ प्रतिशतले वृद्धि भएर अहिलेसम्म कूल खेतीयोग्य जमिनको ७६.५४ प्रतिशतमा रोपाइँ भइसकेको मधेस प्रदेशका कृषि विकास निर्देशनालयले जनाएको हो । हालसम्म मधेस प्रदेशमा धान खेती हुने भूमि मध्ये २ लाख ८५ हजार २ सय ३४ दशमलव ५२ प्रतिशतमा धान रोपाई  भइसकेको छ ।

गत साउन १६ गतेसम्म मधेस प्रदेशमा धान खेती हुने क्षेत्रफल मध्ये ४२.७३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो भने हाल एक हप्तामा मात्र ३३.८१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ थपिएको निर्देशनालयले दिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

जिल्लागत रूपमा सबै  भन्दा बढी धान रोपाई बारा जिल्लामा भएको छ । बारामा धान खेती हुने क्षेत्रफलको ९५ प्रतिशत जग्गामा धान रोपाई भएको छ । दोस्रो बढी ९२ प्रतिशत धान रोपाई पर्सा जिल्लामा भएको छ भने सबै भन्दा बम महोत्तरीमा भएको छ । महोत्तरीमा ६१.५ प्रतिशत जमिनमा धान रोपाई  मात्र भएको  मधेस  प्रदेशका भूमि व्यवस्था  कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत अविनाश झाले जानकारी दिनुभएको हो  ।

धान रोपाइँमा आएको वृद्धिका कारण किसानहरू खुसी भएका छन् । नहर, कुलोपैनी, स्यालो ट्युबेल, डिप बोरिङ चलाएर पानी पुर्‍याउनुपर्ने बाध्यता पछिल्लो वर्षाले अन्त्य गरेको जनकपुरधाम वडा नंं ८ का किसान रामदेव यादवले बताउनुभयो । धानको  खेती मधेस प्रदेशमा अहिले आकाशे भरमा हुने गरेको तथ्याङ्कले पुष्टि गरेको छ ।  

मधेस प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेका छन् । पछिल्लो समयमा प्रभावकारी वर्षाले किसानहरूमा ऊर्जा थपेको छ । धान रोपाइँ बढेसँगै प्रदेशमा धानको उत्पादनमा त्यति कमी नआउने विश्वास किसानहरूको रहेको छ । तर ढिलो गरी धान रोपाई गर्दा धानको उत्पादन घट्ने र लागत पनि बढ्ने कृषि क्षेत्रका विज्ञहरूले  बताउनुभएको छ ।

प्रदेशभरि निरन्तर पानी परिरहँदा कृषकहरू सक्रिय भएर रोपाइँमा लागेको खडेरीको बाबजुद पनि धानको उत्पादनमा राम्रो वृद्धि हुने सम्भावना रहेको कृषि क्षेत्रका अगुवाहरूले बताएका छन् । यता किसानहरू खरुहन धान रोपाई यस महिना भरि गर्ने भएकाले ८० प्रतिशत क्षेत्रफलमा धान रोपाई हुने अनुमान मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button