तपाईँ सुन्दै हुनुहुन्छः

धवलागिरि क्याम्पसमा प्राविधिक शिक्षा पढाइ सुरु

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलो पटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ ।

व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले प्राविधिक विषयमा पनि पठनपाठन थालेको हो । स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताउनुभयो ।

साबिकको धौलागिरि क्षेत्रका चार जिल्लामा रहेका क्याम्पसहरूमा बीआइसीटीई कक्षा सञ्चालन गर्ने धवलागिरि पहिलो क्याम्पस भएको उहाँले जानकारी दिनुभयो । २१ औँ शताब्दीको शिक्षक बन्ने विद्यार्थीको चाहना पूरा गर्ने, प्रविधि र शिक्षा दुवैमा दक्ष बनाउने अभियान अन्तर्गत प्राविधिक विषयमा पठनपाठन सुरु गरिएको पौडेलले बताउनुभयो ।

बिआइसिटिई कार्यक्रमले शिक्षण र डाटा विश्लेषणमा नविनतम् प्रविधिको प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्ने उहाँको भनाई थियो । डिजिटल युगमा अत्यावश्यक सुरक्षा सीप र नेटवर्क व्यवस्थापनमा दक्ष जनशक्तिको उत्पादन अब धवलागिरिमा नै हुने उहाँले दाबी गर्नुभयो ।

बिआइसिटिई पढेका विद्यार्थीले सरकारी तथा गैरसरकारी संस्थामा रोजगारीका लागि तयार हुनुका साथै स्वरोजगार समेत बन्न सक्ने भएकाले यसको माग पनि बढेको उहाँले बताउनुभयो । क्याम्पसले विद्यार्थी र समयको मागलाई ध्यान दिएर प्राविधिक विषय पढाउन थालेको क्याम्पस प्रमुख सहप्राध्यापक डाक्टर सुदर्शन सिलवालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button