तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा पञ्चेबाजा संरक्षणमा स्थानीय सरकार सक्रिय

बाजुरा। बाजुरा लगायत सुदूरपश्चिम र कर्णालीका जिल्लामा परम्परागत रूपमा प्रचलित मौलिक पञ्चेबाजा लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय सरकारले यसको संरक्षणमा अग्रसरता देखाउन थालेका छन्।

जिल्लाको त्रिवेणी नगरपालिका र जगन्नाथ गाउँपालिकाले परम्परागत रूपमा बाजा बजाउने पेसा अँगाल्दै आएका दमाईं,नेपाली, लगायत जातका स्थानीयलाई आवश्यक कार्यक्रम सहित ,संस्कृति झल्किने पहिरन वितरण गरेका छन्। जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीका अनुसार पञ्चेबाजा ऐतिहासिक संस्कृति भएकाले यसको प्रवर्द्धनका लागि पालिकाले योजना निर्माण गरी कार्यान्वयन गरिएको छ ।जगन्नाथमा मात्र एक सय भन्दा बढी स्थानीय बाजा बजाउने दमाई लगायत जातिलाई संस्कृति झल्किने पहिरन वितरण गरिसकिएको छ। त्यस्तै त्रिवेणि नगरपालिकाले पनि पञ्चेबाजा संरक्षणका लागि पहिरन वितरण सँगै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको नगर प्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।

युवा पुस्ताले यस पेसाप्रति चासो नदेखाउनु र यसैबाट जीविका चलाउन सकिने अवस्था नरहेकाले पञ्चेबाजा पछिल्लो समय सङ्कटमा पर्न थालेपछि स्थानीय सरकारले चासो देखाउन थालेको हो। पालिकाले कार्यक्रम सञ्चालन गरेका गाउँमा सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने पञ्चेबाजा जोगाउन अहिले युवाहरू नै अगाडि आएका छन्।

करिब डेढ दशकअघि बाजुराका गाउँ–गाउँमा विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा पञ्चेबाजा अनिवार्यजस्तै थियो। पछिल्लो समय भने फाटफुट बाहेक आधुनिक बाजा बजाउने चलन बढेपछि पञ्चेबाजा ओझेलमा परेको छ।

पश्चिमी संस्कृतिप्रतिको बढ्दो आकर्षणले परम्परागत पञ्चेबाजा विस्थापित गरिरहेको बडिमालिका-५ का पञ्चेबाजा वादक जङ्ग नेपालीले बताउनुभयो ।

करिब ३० वर्षदेखि पञ्चेबाजा बजाउँदै आउनुभएका त्रिवेणी नगरपालिका-९ का धर्म नेपाली भन्नुहुन्छ, “पहिले पञ्चेबाजा बजाएरै घर खर्च चल्थ्यो, अहिले त्यो अवस्था छैन।” पालिकाहरूले नै यसको संरक्षणमा चासो देखाउन थालेकाले यो पेसा युवा पुस्तामा हस्तान्तरण गर्न सहज हुने सरोकारवालाहरूको बुझाइ रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button