तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीमा शुद्धीकरण, आत्म निरीक्षण र आत्मविश्वास आवश्यक : महामन्त्री थापा

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा शुद्धीकरण, आत्म निरीक्षण र आत्मविश्वास आवश्यक रहेको बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित स्व. श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा महामन्त्री थापाले काँग्रेसले आफूलाई फर्केर समीक्षा गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने बताउँदै देश चलाउने प्रमुख शक्ति काँग्रेस पार्टी रहेको उहाँको भनाइ थियो । 

उहाँले नेपाली समाजमा अहिले असन्तुष्टि रहेको र नागरिक रिसाएको बताउँदै यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम काँग्रेसको काँधमा आएको बताउनुभयो ।

पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको टिप्पणी गर्दै उहाँले काँग्रेसलाई बलियो बनाउन अग्रज नेताहरूको मार्ग निर्देशन पालना गर्न सबै नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घीय सांसद दुर्लभ थापाले आगामी दिनमा नेपाली काँग्रेसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्दै आफू एआई राजनीतिका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सङ्घीय सांसद रमा कोइराला पौडेल, बागमती प्रदेशका पूर्व मन्त्री द्वय सुरजचन्द्र लामिछाने र कृष्णलाल भँडेल, प्रदेश सांसद सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकार कबीर राणा लगायतले स्व.कार्कीको योगदानबारे चर्चा गर्नुभएकाे थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button