उत्तराखण्ड पहिरोमा परि बाजुराका २ जना बेपत्ता
बाजुरा । भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लास्थित धरालीमा गएको भीषण बाढीमा परेर बाजुराका २ जना बेपत्ता भएका छन्।
“सडक निमार्णमा मजदुरी गरेर टेन्टमा बस्दै आएका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर २ पुडेनीका एक दम्पती पहिरोमा परी बेपत्ता भएका आफन्त जनक बुढाले बताउनुभयो ।
बेपत्ता हुनेमा सोही गाउँपालिका(२ पुडेनीका २१ वर्षीय रमेश बुढा र उहाँकी श्रीमती १९ वर्षीय प्रिया बुढा रहनुभएको छ ।
पारिवारिक आर्थिक अभावका कारण मजदुरीका लागि कमाउन गएका बुढाको दम्पती टेन्ट भित्रै रहेको अवस्थामा पहिरो आएर बेपत्ता पारेको आफन्त बुढाले जानकारी दिनुभयो ।
वैशाखमा विवाह गरेका बुढा दम्पती ऋण तिर्न र दैनिक गुजारा गर्न रोजगारीका लागि भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा गएका थिए। यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भने पहिरोमा परी बेपत्ता भएको विवरण हाल सम्म नआएको र बेपत्ता भएको भए विवरण पठाउन परिवारलाई आग्रह गरिएको बताउनुभयो । उत्तराखण्डमा स्वामिकार्तिक खापर गाउँपालिकाका ३४ जना रोजगारीका लागि गएका छन् । तीमध्ये ३२ जना सम्पर्कमा भए पनि बुढा दम्पती हालसम्म सम्पर्कमा आउन नसकेका गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्