कोशी प्रदेशमा लम्पी स्किनबाट २२ हजार बढी पशु संक्रमित, ३ लाख २५ हजार ६२ पशुमा खोप लगाइयो

विराटनगर । जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २२ हजार १ सय २२ पशुहरु संक्रमित भएका छन् ।
‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या ६३७ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यु हुने गाई÷गोरु ६३५ र भैसी÷राँगा दुईवटा रहेका छन् ।
लामो समयसम्म प्रदेशका १० वटा जिल्लामा मात्र सिमित रहेको यो महामारी गत हप्ता देखि तेह्रथुममा पनि देखापरको निर्देशनालयका निर्देशक एंव पशु चिकित्सक डा शुसिल अधिकारीले बताउनुभयो ।
सो रोगबाट सबै २१ हजार ८९८ गाई/गोरु तथा भने २२४ वटा भैसी/राँगा सङ्क्रमित भएका छन् ।
‘लम्पी स्किन’को महामारीबाट सबैभन्दा बढी झापामा १४ हजार ६९२ वटा पशु सङ्क्रमित भएका छन् । त्यसैगरि झापा पछि मोरङ, इलाम र सुनसरी बढी पशुहरु सङ्क्रमित भएका छन् ।
निर्देशनालयका अनुसार रोग नियन्त्रणका लागि कोशी प्रदेशका प्रभावित जिल्लाका तीन लाख २५ हजार ६२ गाईगोरु र राँगा भैंसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइ सकिएको पशु चिकित्सक अधिकारीले वताउनुभयो । कोशी प्रदेसका लागि पशुसेवा विभागले चारलाख खोप उपलव्ध गराएको र खोप लगाउने कार्य अििहलेपनि जारी रहेको उहाको भनाई छ ।
गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिने र यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट एकबाट अर्कोमा सर्ने गर्छ । ‘रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन भइरहेको छ ।
यो रोग लाग्दा सुरुमा पशुको शरीरमा फोकाहरु निस्कने र पछि ती फोकाहरु फुटेर घाउ हुने गरेको पशुप चिकित्सकहरु बताउँछन् । यो रोग नेपालमा २०७७ साउनमा पहिलो पटक मोरङमा देखापरेको थियो । अगाडि व्यस्क पशुहरुमा मात्र देखापरेको यो रोग यसपटक बाछाबाछी र पाडापाडीहरुमा पनि देखा परेको छ ।
प्रतिक्रिया राख्नुहोस्