पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल एटीएफ यु–१४ टेनिस खेल्न मलेसिया जाँदै

पोखरा । पोखरेली जुनियर टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा सहभागी हुन मलेसिया जाने हुने भएको छ । यही साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उहाँले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन लाग्नु भएको हो ।
नेपाल टेनिस सङ्घको अनुरोधमा एशियन टेनिस महासङ्घले उहाँलाई ‘वाइल्ड कार्ड’ मार्फत छनौट गरेको संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले बताउनु भयो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउनु हुने छ । यस प्रतियोगितामा सहभागी खेलाडीहरूले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक जम्मा गर्दै जानेछन्।
यसैबिच कास्की जिल्ला टेनिस सङ्घले खेलाडी पौडेललाई बुधबार एक समारोहका बिच बिदाई गरेको छ । बिदाई समारोहमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले पोखराकै माटोमा हुर्किएका खेलाडी आर्यषले टेनिस खेलमा ठूलो सम्भावना देखाइरहेका बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगितामा भाग लिन पाउनु पोखरेलीका लागि गौरव भएको बताउँदै शुभ–कामना व्यक्त गर्नुभयो । विदाई समारोहमा पोखराका अग्रज टेनिस खेलाडी, अभिभावक, टेनिस संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । नेपाल शिर्ष वरियता खेलाडी प्रदीप खड्काले समेत खेलाडी पौडेललाई उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्