तपाईँ सुन्दै हुनुहुन्छः

चरीगाँउमा अज्ञात रोगका कारण ६० भन्दा धेरै पशु चौपाया मरे

हुम्ला ।  मध्ये भेकमा रहेको चंखेली गाउँपालिका वडा नम्बर ६ स्थित चरीगाँउमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् । 

दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको पेट सुनिने, छाती सुनिने, दिशा गर्न नसक्ने, घाँस नखाने, र्‍याल छोड्ने , दिशा पिसाप मा रगत देखिने रोगले अहिलेसम्म चरीगाँउको लामालेख १०, जुम्खेला ११, क्षेल्दुम १०, मुन्खेती ६, धुन्देउ ८, राता माटा ९, र लाङ्गोर ५ वटा भन्दा धेरै गाई , गोरु र बाच्छा समेत मरेका चंखेली गाउँपालिका–६ चरीगाँउका प्रमसिहं सिराले बताउनु भयो ।

अज्ञात रोग फैलिएकोले अहिलेसम्म चंखेली गाउँपालिकाको चरीगाँउका कृषकका ६० भन्दा बढी पशुवस्तु मरेपछि यहाँका किसानलाई ठुलो क्षति पुगेको छ । खेतबारी जोत्नको लागि एक हल गोरु जोगाउन पनि धौ धौ भएको किसानहरूको भनाई छ । यो समयमा अधिकांश कृषकका पशुवस्तु अहिले लेखतिरको खर्क लिने समय भएका कारणले पनि लेखमा पशुवस्तु मरेका सिराले बताउनु भएको छ ।

अज्ञात महामारीका कारण पशुबस्तु मर्न थालेपछि लेख तिरको जङ्गल समेत दुर्गन्धित भएको छ ।   खर्कहरूबाट गाउँघरमा पशु बिरामी भएको खबर आए लगतै चंखेली गाउँपालिकाको पशुशाखामा औषधिको लागि हप्ता दिन धाउँदा पनि स्वास्थ्यकर्मी नभएको र पशु शाखाको ढोका चौबिसै घण्टा बन्दा हुँदा रित्तो हात लिएर फर्किनु परेको सिराले बताउनु भयो ।

गाउँपालिकामा खबर गर्दा समेत औषधी छैन भन्दै कुनैपनि सुनवाइ नभएको सिराले बताउँदै भयो । गाउँपालिकामा औषधि नपाउँदा दश हजार रुपैयाँ खर्च गरेर सदरमुकाम सिमकोट पशु शाखाबाट औषधि लिएर गाउँ फर्किएको अर्का कृषक सुर सिराले आफ्नो दुखेसो सुनाउनु भयो ।

चालु आर्थिक बर्ष सुरु भएको समयदेखि गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशवस्तु लाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ रहेको छ । यति वेला जिल्लाका विभिन्न खर्कहरूमा अज्ञात रोगका कारण धेरै पशु वस्तुहरू मरेका गाउँका कृषकहरूले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button