पोखरा महानगरपालिकाको नगर ऊर्जा योजना सार्वजनिक
कास्की । पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले वि।स २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्य सहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ लागिरहेको बताउनुभयो । किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो विकासको विश्वव्यापी लक्ष्य अनुरूप महानगर भित्र स्वच्छ ऊर्जा र ऊर्जा दक्षतामा जोड दिने उद्देश्य सहित नगर ऊर्जा योजना निर्माण गरिएको उहाँले बताउनुभयो ।

दैनिक जीवनमा प्रयोग गरिने सामाग्रीहरूमा विद्युतीय उपकरणहरूको उपयोग गर्दै नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गरी कार्बन उत्सर्जनको खुद शून्य २०४५ को लक्ष्य अनुरूप नीतिहरू अवलम्बन गरिएको नगर प्रमुख आचार्यले बताउनुभयो । पोखराको कार्बन तटस्थता लक्ष्य र समृद्ध पर्यटकीय पोखरा निर्माणका लागि समग्र ऊर्जा स्थितिको अध्ययन सहित सम्भावित योजनाहरूको पहिचानका लागि नगर ऊर्जा योजना तयार गरिएको उहाँले बताउनुभयो । यसले महानगरको ऊर्जा दक्ष प्रविधिहरूको एकीकरणसँगै किफायती, स्वच्छ र भरपर्दो ऊर्जा विकासका लागि उल्लेखनीय योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
महानगरको ग्रामीण क्षेत्रका घरहरूमा सुधारिएको चुल्हो प्रवर्द्धन, सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगमा प्राथमिकता, नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा वृद्धि, ऊर्जा दक्षता सुधार लगायतका कार्यहरूलाई योजनाबद्ध ढङ्गले व्यवस्थित रूपमा सम्पादन गर्न नगर ऊर्जा योजना २०८१–८६ ले नीतिगत व्यवस्था गरेको छ ।
नगर ऊर्जा योजनाले दक्ष र दिगो ऊर्जामार्फत समुन्नत पोखराको परिकल्पना र ऊर्जा स्वच्छता र दक्षता मार्फत कार्बन तटस्थ पोखराको निर्माण गर्ने ध्येय राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्