तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सङ्गठित र सघन प्रयास जारी : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले सङ्गठित र सघन प्रयास जारी राखेको बताउनुभएको छ ।  

प्रतिनिधिसभा बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो ‘नेपालको सङ्गठित र सघन प्रयासहरूको परिणामस्वरूप निर्धारित समय अगावै नेपाल ग्रे लिस्टबाट बाहिर निस्कनेछ ।‘ अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा कार्ययोजना दराजमा थन्काउन नभई कार्यान्वयन र सार्थक नतिजा प्राप्तिका लागि तयार पारेको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन २०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको बताउनुभयो । 

त्यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली २०८२ जारी गरी कार्यान्वयनमा आएको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी रणनीति तथा कार्ययोजना (2081/082-85/086) कार्यान्वयनमा रहेको जानकारी गराउनुभयो । 

शिघ्रातिशीघ्र मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले ग्रे लिस्ट बाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ स्वीकृत गरी कार्यान्वयनमा आएको, एसिया प्यासिफिक ग्रुपबाट प्राप्त रि रेटिङको रिपोर्टिङ ढाँचामा प्रतिवेदन गरी फाइनान्सियल इन्टेलिजेन्स युनिटमार्फत प्रतिवेदनको प्रबन्ध गरिएको अर्थमन्त्रीको भनाइ छ। 

अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने वस्तु व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको पनि सदनलाई जानकारी गराउनुभयो । 

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा क्यासिनो व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा घर जग्गा कारोबार सम्बन्धी (सूचक संस्था)लाई जारी गरेको निर्देशका २०८२ कार्यान्वयनमा रहेको छ । त्यस अतिरिक्त सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनले गठन गरेको निर्देशक समिति र समन्वय समितिका अतिरिक्त रणनीति तथा कार्ययोजना (2081-2085/086) अवधि भरका लागि 4 वटा कार्यान्वयन समन्वय संयन्त्र गठन गरी समन्वय, सहजीकरण, अनुगमन र निर्देशनसम्बन्धी कार्य भइरहेको पनि अर्थमन्त्री पौडेलले सदनलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button