तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा उत्कृष्ट : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरूमध्ये सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभएको छ ।

आज खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले मन्त्रालयले चुनौतीपूर्ण परिस्थिति हुँदै पनि सन्तोषजनक काम गर्दै उदाहरणीय नतिजा प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

गत वर्षको प्राकृतिक विपद्, स्रोत र बजेटको सीमितता तथा प्राविधिक जटिलताका बाबजुद मन्त्रालय र विभागले देशभर खानेपानी तथा सरसफाइ क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गर्न सफल भएको मन्त्री यादवले बताउनुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले यस दिशामा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुहुँदै मन्त्री यादवले गत आर्थिक वर्षमा हासिल भएका प्रगतिहरूले हाम्रो राष्ट्रिय लक्ष्य ‘स्वच्छ नेपाल : स्वस्थ नेपाली’ लाई प्राप्त गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याएको दाबी गर्नुभयो ।

खानेपानी मन्त्रालयको व्यवस्थापन क्षमता थप सुदृढ गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत अस्थायी संरचनामा सञ्चालन भइरहेका आयोजनाहरूलाई १५ वटा स्थायी कार्यालयको रूपमा रूपान्तरण गरिएका कारण आयोजनाहरूको दिगो सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्नेछ विश्वास उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री यादवले जलवायु परिवर्तनका कारण समस्या उत्पन्न भएको तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

खानेपानी तथा ढल व्यवस्थापन विभागमा महानिर्देशक ई रामकुमार श्रेष्ठले गत आर्थिक वर्षमा खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा गरेका कार्यहरूको विस्तृत जानकारी दिनुहुँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मिना श्रेष्ठले विभागले आर्थिक वर्ष २०८१/८२ मा हासिल गरेको प्रगति प्रति खुसी व्यक्त गर्नुभएको थियो ।  

कार्यक्रममा विभागीय निर्देशक, प्राविधिक, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button