तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

दार्चुला। भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । 

महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो । 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि बुधवार बिहान ६ बजेसम्म महाकालीमा जल स्तर बढ्न सक्ने भएकाले व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्ककता अपनाउन आग्रह गर्नुभएको छ । 

यसै गरी बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पनि महाकालीमा जल स्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई नदी छेउछाउ नजान अनुरोध गरिएको छ ।

धौलीगङ्गाको बाँधको ढोका खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button