बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मका कारण पनि नेपाल विश्वमा चिनिएको बताउनु भएको छ ।

गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको सङ्ख्या विश्वमै बढिरहेको उल्लेख गर्नुभयो। उहाँले ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौँ, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ’ मन्त्री पाण्डेले गुरु पद्मसंभवको योगदानको चर्चा गर्दै भन्नुभयो, “हिमाली बौद्ध परम्परालाई उहाँले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गर्नुभयो। उहाँको योगदान आज विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्त्वपूर्ण आधार हो।”
उहाँले पहिलो पटक गुरु पद्मसंभवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम भएको बताउँदै यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गर्दै भन्नुभयो, “भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्ध मार्गबाट मात्र सम्भव हुन्छ।”
नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।







प्रतिक्रिया राख्नुहोस्