सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल हेमन्तपुरमा वरिष्ठ सम्पादकको बिदाइ
खेमराज न्यौपाने, दाङ ।
सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल हेमन्तपुरमा पश्चिमा थारु भाषाका वरिष्ठ समाचार सम्पादक श्री प्रसाद चौधरीको २८ वर्षे सेवा यात्रा सम्पन्न भएको छ। दीर्घकालीन सेवापछि उहाँको बिदाइ तथा नयाँ सम्पादक श्री पशुपति चौधरीको स्वागत कार्यक्रम भव्य र भावनात्मक वातावरणमा सम्पन्न भएको हो।

रेडियो नेपाल हेमन्तपुरको कार्यालय परिसरमा आयोजित बिदाइ कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख बिन्तीराम महतोले गर्नुभएको थियो । त्यस अवसरमा महतोले चौधरीको योगदान स्मरण गर्दै दुई दशकभन्दा बढी समय उहाँले पश्चिमा थारु भाषामा समाचार सम्पादन र प्रसारणमा दिनुभएको योगदान सम्पूर्ण समुदायका लागि ऐतिहासिक रहेको बताउनुभयो ।
विगत २८ वर्षदेखि रेडियो नेपालसँग आबद्ध रहँदै थारु भाषामा जनचेतना अभिवृद्धि, सूचना प्रवाह र समुदायको आवाज बुलन्द बनाउन अहोरात्र क्रियाशील रहनुभएका चौधरी बिदाइमा भावुक देखिनुभयो। “रेडियो मेरो जीवनको अभिन्न हिस्सा बन्यो। आज बिदाइको दिनमा मन भारी छ,” उहाँले भन्नुभयो, “थारु भाषाको सम्मान र सञ्चारको सशक्त माध्यमको रूपमा रेडियो नेपालले जुन योगदान पुर्यायो, त्यसको साक्षी हुन पाउनु मेरो सौभाग्य हो।”
वरिष्ठ सम्पादक चौधरीको स्थानमा नियुक्त श्री पशुपति चौधरीलाई कार्यालयले औपचारिक स्वागत गरेको छ।

पशुपति चौधरीले श्री प्रसाद चौधरीको योगदानलाई “प्रेरणादायी पाठशाला”को संज्ञा दिँदै आफू पनि त्यो मार्ग पछ्याउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको सहजीकरण सुरेश डाँगीले गर्नुभएको थियो। उहाँले चौधरीको सेवा कालको विविध संस्मरण साझा गर्दै उहाँको सरलता, सहकार्य र भाषिक योगदानको चर्चा गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्