तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक : अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकाबारे छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको काठमाडौँमा जारी स्थायी कमिटीको बैठकमा आज विश्व राजनीति र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकाबारे छलफल भएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको आजको बैठकमा बोल्ने नेताहरूले  विश्व राजनीति र कूटनीतिमा नेपालको उपस्थिति कमजोर हुँदै गएको बताउनुभएको बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

यस्तै नेपालको कूटनीतिक क्षमता विकास गर्न र अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको छवि बढाउन दृढ नेतृत्वको विकास गर्न जरुरी रहेको निष्कर्ष बैठकले निकालेको माओवादी प्रवक्ता सापकोटाले बताउनुभयो । 

नेपालका छिमेकी राष्ट्रहरू चीन, भारत तथा रुस जस्ता देशहरू विश्व शक्तिका रूपमा आउन लागेको र संयुक्त राष्ट्रसङ्घ निष्प्रभावी हुने अवस्था आएको बेला नेपालको भूमिका बलियो बनाउनुपर्ने बैठकमा बोल्ने नेताहरूले बताउनुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । 

यस्तै आजको बैठकमा बोल्ने पार्टी नेताहरूले समाजवादलाई परिभाषित गर्दै मुलुकको कृषि, उद्योगधन्दा, राष्ट्रिय सुरक्षा र विज्ञान प्रविधिको विकासका लागि पार्टी लाग्नुपर्ने लगायतका विषयमा सुझाव दिनुभएको उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button