मसोट खोला पुल मर्मतका लागि चार दिन सवारी आवागमन बन्द हुने
दाङ । लमही–घोराही सडकखण्ड अन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्लाको प्रमुख सडक सञ्जालमा पर्ने उक्त पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने निर्णय गरेको हो ।
निर्णयअनुसार यही साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म मसोट खोला पुलमा दुई पाङ्ग्रे बाहेकका अन्य सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिनेछ । उक्त अवधिमा सडक डिभिजन कार्यालय दाङले पुलको आकस्मिक मर्मत गर्नेछ ।
पुल मर्मत भइरहँदा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्गको रूपमा अर्जुन खोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले आग्रह गरेको छ ।
ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइने ट्राफिक कार्यालयले जनाएको छ ।
साथै, मर्मत अवधिमा अत्यावश्यक सवारी साधनका लागि डाइभर्सन मार्गको मर्मत गरी सञ्चालन गरिनेछ । डाइभर्सन मार्ग सडक डिभिजन कार्यालयले मर्मत गर्नेछ भने ट्राफिक प्रहरीको समन्वयमा अत्यावश्यक सवारीका लागि व्यवस्थापन गरिने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्