तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट ध्वस्त बाम्का बजारको पुनर्निर्माण सम्पन्न

बाजुरा । बाजुराको प्रमुख व्यापारिक केन्द्र बाम्का बजारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। ०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलागीबाट ध्वस्त बजार करिब दुई महिनापछि पुनः निर्माण गरिएको हो।

पुनर्निर्माण पछि बाम्का बजार

बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजार सरकारी तथा गैरसरकारी निकायहरू र स्थानीय व्यक्तिहरूको सहयोगमा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको हो। सुरुमा कसरी पुनः निर्माण गर्ने भन्ने चिन्तामा रहेका पीडितहरू राहत पाएपछि केही हदसम्म खुसी देखिए पनि नयाँ सामान किन्नुपर्ने समस्याले उनीहरू फेरि चिन्तित बनेका छन्।

आगलागी पीडित व्यापारीहरूले राहतको रकमबाट टिनका टहरा उठाए पनि आवश्यक सामग्री जुटाउन नसक्दा पसलहरू अहिले पनि खाली छन्। घरजग्गा र सम्पत्ति धितो राखेर व्यापार थालेका धेरै व्यवसायी आगलागीले सबै गुमाएर ठुलो क्षति व्यहोर्न बाध्य भएका थिए।

बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार बुढीगंगा र त्रिवेणी नगरपालिकाले संयुक्त रूपमा बाम्का बजार पुनर्निर्माण तथा व्यवस्थापन समिति बनाएर विभिन्न सहयोगी निकायहरूको सहयोगमा पुनर्निर्माण गरिएको हो।

नगर प्रमुख बानियाँका अनुसार पूर्ण रूपमा क्षति भएका १३ र आंशिक रूपमा क्षति भएका ९ गरी २२ वटा पसल पुनर्निर्माण गरिएको छ। राहत सङ्कलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म नगद र जिन्सी गरी करिब एक करोड १० लाख बराबरको राहत सङ्कलन भएको छ।

आगलागी हुँदा

प्रतिक्रिया राख्नुहोस्

Back to top button