तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा आरयू फेष्ट सुरु

पोखरा । पोखरामा फोहोर व्यवस्थापनलाई अवसरमा बदल्दै हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयू फेष्ट सुरु भएको छ । आज (शुक्रवार) पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेष्टको उद्घाटन गर्दै पोखरामा निस्कने फोहोरलाई अब मोहोरमा बदल्ने अभियान सुरु भएको बताउनुभयो ।

मेयर आचार्यले भन्नुभयो, “फोहोर अभिशाप होइन, उद्यमशीलताको अवसर हो भन्ने सन्देश दिन यस फेष्टले महत्त्वपूर्ण योगदान दिनेछ । रिसाइक्लिङ र अपसाइक्लिङमार्फत नयाँ सीप, ज्ञान र मार्गदर्शन प्रदान गर्दै चक्रीय अर्थतन्त्र निर्माणमा यो साझा मञ्च बन्ने हामीले विश्वास लिएका छौँ ।”

पोखरा–६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिवारसम्म सञ्चालन हुने फेष्टमा दर्जन भन्दा बढी कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन प्रदर्शनीमा राखेका छन् । प्लास्टिकजन्य सामग्री, बोतल, कागज र प्रयोगशून्य कपडाबाट बनेका झोला, ब्याग, थैली लगायतका सामग्रीहरूले प्रदर्शनी स्थललाई आकर्षक बनाएका छन् । फोहोर बोतलबाट निर्माण गरिएको माछा आकृतिमा पनि सहभागीहरू आकर्षित भएको देखिन्छ ।

फेष्टमा फोहोरलाई पुनः प्रयोगका लागि प्रशोधन गर्ने प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्न सकिने छ भने फालिएका वस्तुको संरक्षण गरी अर्को कामको लागि प्रयोग गर्न सकिन्छ साथै, फोहोर व्यवस्थापन, जलवायु परिवर्तन, हरित उद्यमशीलता, प्लास्टिक–टु–रोड प्रविधि, बजार पहुँच र दिगो जीविकोपार्जनबारे प्यानल छलफल र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिएका छन् ।

यस परियोजनामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोग रहेको छ । करिब १ अर्ब ४४ करोड रुपैयाँ लगानीमा जिभिजेड सेन्टरमार्फत फोहोर प्रशोधन गरी विभिन्न सामग्री उत्पादन भइरहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button