जलवायु परिवर्तनका असरबाट बच्न दीर्घकालीन ठोस योजना निर्माणमा जोड
जनकपुरधाम । जलवायु परिवर्तनका कारणले मधेश प्रदेशमा देखा परेको सङ्कटबाट पर्ने असरबाट जोगिने उपायका विषयमा सरोकारवालाहरुसंग आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा जलवायु परिवर्तनका कारणले पानीका श्रोतहरू सुक्दै गएकोमा सबै तीरबाट चिन्ता व्यक्त भइरहेको बेलामा यसको अल्पकालीन मद्यकालीन तथा दीर्घकालीन समाधानका उपायहरू बरेमा सरोकारवालाहरुसंग छलफल सम्पन्न भएको हो ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले जलस्रोत सङ्कटले मधेश क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारिरहेका बेला ती समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी कार्ययोजना बनाएर काम गर्नका लागि सरोकारवालाहरूलाई निर्देशन दिनुभयो ।
“जलवायु परिवर्तन तथा जलस्रोत सङ्कट प्रतिको प्रतिक्रिया योजना” विषयक छलफलमा मन्त्री लेखीले जलवायु परिवर्तन दूरगामी कल्पना होइन, आजको यथार्थ भएको बताउँदै मधेशमा भूमिगत पानीको ह्रास, अनियमित वर्षा र तापक्रमको अत्यधिक वृद्धिले जनजीवन कष्टकर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जल, सिँचाइ, कृषि, स्वास्थ्य तथा वातावरण क्षेत्रका विज्ञ, सरोकारवाला निकाय, स्थानीय प्रतिनिधि , पत्रकार तथा नागरिक समाजको उपस्थिति थियो । सहभागीहरूले जलस्रोतको संरक्षण, वातावरणीय शिक्षा, र स्थानीय तहमा आधारित समाधान खोज्नका लागि सुझाव दिनुभएको थियो ।
छलफलका क्रममा प्रस्तुत कार्यपत्रमा मधेशमा भूमिगत पानीको स्तर तीव्र गतिमा घट्दै गएको, उच्च तापक्रमले बाली सुक्ने समस्या बढेको र यसले खाद्य उत्पादनमा प्रत्यक्ष असर परेर खाद्य सुरक्षामा समस्या निम्त्याउने बताउने विषयमा जोड दिइएको छ ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल बराल सहितको उपस्थित रहनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्