‘नेपाल ओलम्पिक कमिटी विघटन गर्दै तदर्थ समिति गठन गरिन्छ’
काठमाडौँ । खेलकुद मन्त्री तेजुलाल चौधरीले जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटी विघटन गर्दै तदर्थ समिति गठन गर्ने बताउनुभएको छ ।

शुक्रवार खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले ओलम्पिक कमिटीले गैर कानुनी रूपमा आफ्नो काम गरिरहेको बताउँदै तदर्थ समिति गठन गर्न आफू अन्तिम चरणमा रहेको प्रस्ट पार्नुभयो ।
ओलम्पिक कमिटीको विधान संशोधित गर्दै जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष हुनुभएको थियो । जीवनराम निर्विरोध चुनिएपछि ओलम्पिक कमिटी र सरकारबिच चर्को असन्तुष्टि छ । सरकारले सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा ताला लगाएको छ ।
यता, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भने अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठसहितको कार्यसमितिलाई नै मान्यता दिएको छ । यही कार्य समितिले २०औँ एसियाली खेलकुदको लागि ३० खेलको दर्ता प्रक्रिया पूरा गरिसकेको छ ।
युवा तथा खेलकुद मन्त्री चौधरीले एनपिएलको विषयमा छानबिन गर्न गठन गरेको कार्यदललाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले असहयोग गरेकाले नयाँ समिति गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले आफूले कहिल्यै एनपिएल रोक्न नखोजेको बताउँदै छानबिन गर्न हुन्न भन्नेहरू नै एनपिएल विरोधी भएको आरोप लगाउनुभयो ।
मुलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कूल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ तथा खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेको थियो । आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत (४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ) आठ फ्रेञ्चाइज टोलीलाई बाँडफाँड गरिएको छ । त्यसपछि बाँकी रहेको बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट सङ्घलाई दिएपछि कूल नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको क्यानले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्