एक्सपर्ट फुटसल फेष्ट–२०२५ को उपाधि वाल्मीकिलाई
चितवन । ‘एक्सपर्ट फुटसल फेस्ट–२०२५’ को उपाधि वाल्मीकि शिक्षा सदन भरतपुरले जितेको छ ।

चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा भरतपुर–३, बाह्रघरे स्थित क्यासी स्पार्टसमा आज भएको फाइनल प्रतिस्पर्धामा होली भिजन पब्लिक स्कुललाई ८–३ को फराकिलो गोल अन्तरले पराजित गर्दै वाल्मीकिले उपाधि जितेको हो । उपाधिसँगै वाल्मीकिले नगद ५० हजार रुपैयाँ र आकर्षक ट्रफी मेडल प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको होली भिजनले नगद २५ हजार रुपैयाँ र मेडल प्राप्त गर्यो ।
यस्तै सर्वाधिक गोलकर्ता होली भिजन पब्लिक स्कुलका यमबहादुर दुरा घोषित भए भने उत्कृष्ट गोलकिपर वाल्मीकिका अङ्कित तामाङ र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वाल्मीकिकै मोनिक आले घोषित भए । उनीहरूले जनही ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । यस्तै सेमिफाइनलमा पुगेका दुई टिम प्रेसिडेन्सी कलेज र नारायणी इङ्लिस पब्लिक स्कुलले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेता र उपविजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि भरतपुर–३ का वडा अध्यक्ष विकास थापाले पुरस्कार वितरण गर्नुभयो । त्यस क्रममा बोल्दै वडा अध्यक्ष थापाले खेलकुद स्वास्थ्य र राष्ट्र दुवैका लागि भएको भन्दै युवाहरूको खेलप्रति लगावको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले खेलकुदमा युवाहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आयोजक एन्फा चितवन र मुख्य प्रायोजक एक्सपर्ट चितवनलाई धन्यवाद दिनुभयो ।
आजै भएको दुई सेमिफाइनलमा होली भिजनले प्रेसिडेन्सी र वाल्मीकिले नारायणी इङ्लिस पब्लिक स्कुललाई पराजित गर्दै फाइनल स्थान तय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्