बीरगंजमा खानेपानी सङ्कट समाधानका लागि भेडाहा खोलामा भण्डारण केन्द्र निर्माणको तयारी
'अमलेखगञ्जजस्तै मोडेल वीरगंजमा लागू गर्ने तयारी'

बीरगंज । बीरगंज महानगरपालिकाले खानेपानी सङ्कटको स्थायी रूपमा समाधानका लागी पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको भेडाहा खोलामा पानीको भण्डारण केन्द्र निर्माण गर्ने तयारी थालेको छ ।
बीरगंज महानगरपालिकामा बढ्दो खानेपानी सङ्कटका बिच समाधानको बाटो खोज्दै महानगर र राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको संयुक्त प्राविधिक टोलीले भेडाहा खोलाको पानीको स्रोतको स्थलगत निरीक्षण गरेको छ ।

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका कार्यकारी अध्यक्ष डा. किरण पौडेलको नेतृत्वमा बिहीबार गएको टोलीले अमलेखगन्जको भावर क्षेत्रमा रहेको कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित पानी स्रोत तथा वितरण प्रणाली अवलोकन गरेको छ ।

अमलेखगन्जमा भू-सतह संरक्षणको प्रविधिबाट हाल दैनिक २४ लाख लिटर पानी वितरण भइरहेको जानकारीपछि वीरगन्जमा पनि यस्तो मोडेल लागू गर्नका लागी टोलीले अध्ययन थालेको हो ।

नगर प्रमुख सिंहले भन्नुभयो, “बीरगंजमा चापाकल सुक्दै गएका छन् । यही अवस्थालाई उल्ट्याउन हामीले अमलेखगन्जको सफल अभ्यासको अध्ययन थालेका हौँ। अब प्राविधिक रिपोर्टको आधारमा ठोस निर्णय लिनेछौँ।”
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका इन्जिनियर अनिल सिन्हाले भावर क्षेत्रको सतही पानी संरक्षण गरी पोखरी तथा अन्य संरचनामार्फत भू-गर्भीय जल स्तर बढाउन सकिने बताउनुभयो । उहाँले वीरगन्ज नजिकैको भेडाहा खोला क्षेत्रलाई सम्भावित स्रोतका रूपमा चिनाउँदै संरक्षणको आवश्यकता औँल्याउनुभयो ।

कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले अमलेखगन्जमा पहिले तीव्र पानी अभाव रहेको तर अहिले सतहभन्दा ३ मिटर गहिरो क्षेत्रमा स्रोत संरक्षण गरेर ८ सय २७ घरधुरीलाई नियमित पानी आपूर्ति भइरहेको बताउनुभयो ।
स्थलगत निरीक्षणमा रहनुभएका ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बीरगंजको दीर्घकालीन खानेपानी सङ्कट समाधानका लागि नयाँ स्रोतहरूको खोजी र संरक्षण कार्यको पहल भइरहेको जानकारी दिनुभयो ।
यो निरीक्षणसँगै बीरगंजमा पानीको भूसतह पुनः वृद्धि गर्ने र खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्ने प्रयासले नयाँ मोड लिएको छ ।

पानीको दीर्घकालीन स्रोत सुनिश्चित गर्न तीन तहको सरकार र चुरे तराई–मधेस संरक्षण विकास समितिको सहकार्यमा पोखरी निर्माण गरी भूगर्भीय जल स्तर वृद्धि गर्ने र चापाकल तथा अन्य साधनबाट वीरगन्जमा पानीको सहज आपूर्ति गराउने लक्ष्य लिइएको नगर प्रमुख सिंहल बताउनुभयो ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका कार्यकारी अध्यक्ष डा. किरण पौडेलले अमलेखगन्जमा प्रयोग गरिएको मोडेल वीरगञ्जमा पनि कार्यान्वयन गर्न सकिने सुझाव दिएसँगै आफूहरूले पर्सा जिल्लाको भेदाहा खोलाको समेत स्थलगत अवलोकन गरेको नगर प्रमुख सिंहल बताउनुभयो ।
बीरगन्ज महानगरले खानेपानीको दीर्घकालीन समाधान खोज्न थालेसँगै वीरगन्जवासीमा आशा पलाएको छ । यदि अमलेखगन्जको मोडेल प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा वीरगञ्जमा दशकौँदेखिको पानीको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्