मधेसमा खानेपानीको स्रोत सुरक्षित राख्न चुरे संरक्षणमा तिनै तहको सरकार जुट्नुपर्छ:डा.पौडेल

वीरगंज । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका कार्यकारी निर्देशक डाक्टर किरण पौडेलले तराई मधेसमा खानेपानीको स्रोत सुरक्षित राख्न चुरे संरक्षणमा तिनै तह का सरकार जुट्नुपर्ने कुरामा जोड्दिनुभएको छ ।
वीरगंज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, ग्रिन सिटी सामुदायिक केन्द्रको संयुक्त आयोजनामा आज वीरगंजको बाईपास रोडस्थित बैष्णवी मन्दिर चोक देखि नयाँ बसपार्क सम्मको सडकको दुवै किनार तथा डिभाईडरमा वृक्षारोपण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक पौडेलले खानेपानी सङ्कटको केन्द्र बनेको वीरगंजमा यसको दीर्घकालीन समाधानकालागि अहिलेबाटै आवश्यक पहल सुरु गर्नुपर्ने बताउनुभयो ।

उहाँले वीरगंजमा जनसङ्ख्या बढ्दै गएको र पानीको स्रोत घटेको छ भन्नुहुँदै पानीको स्रोत किन सुक्यो ? भन्ने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड्दिनुभयो ।
वातावरण बिद डाक्टर पौडेलले जलवायु परिवर्तनको कारण उत्पन्न प्रकोपबाट मधेस प्रभावित भएको बताउँदै जमिनको सतहमुनि २ सय ५० मिटर अर्थात् ६ सय फिट भन्दा तल पानीको भण्डारण रहेको बताउनुभयो ।
उहाँले ४ वर्ष अगाडि सम्म पानीको भूमिगत श्रोत यथावत् रहेको र अहिले सुक्दै गएपछि समस्या उत्पन्न भएको बताउँदै नेपालको नारायणी, कोसी, बागमति जस्ता नदीको पानी जमिनले सोसेर २ सय ५० मिटर भन्दा तल भण्डारण गर्ने हुँदा पानीको भण्डारमा पुगेर भूमिगत जलस्रोत उपयोग गर्नुपर्ने कुरामा जोड्दिनुभयो ।

डाक्टर पौडेलले नेपालको भूमिगत जलस्रोत भारतको बिहार र उत्तर प्रदेशमा पुगेर त्यहाँ २ सय ५० मिटर भन्दा बढी गहिराइबाट खानेपानी र सिँचाईकालागि भूमिगत जलस्रोतको उपयोग भइरहेको बताउँदै हामीले ३ सय फिट माथि बोरीङ्ग गाडेर जमिनको पानी सोसेर निकालिएको हुँदा यसले जनसमस्या उत्पन्न हुने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले खानेपानी सङ्कट सँग जुधिरहेको वीरगंज वातावरण जोगाउन बृहत् वृक्षारोपणमा समेत लागेको बताउनुभयो ।
ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानको संयोजकत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रा, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका उपनिर्देशक सन्तोष ढुङ्गेल, राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकास समिति भरत पुर चितवनका अनिल सिन्हा, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्