जंगली च्याउ खुलेआम बिक्री, गुणस्तरीयता जाँचमा निकाय मौन
बाँके।वर्षायाम सुरु भएसँगै नेपालगंजको बजारमा जंगली च्याउको बिक्री बढेको छ। त्रिभुवन चौकमा दैनिक च्याउ किन्ने र बेच्नेहरूको चहलपहल बढ्दो छ। किसानहरू जंगलबाट च्याउ संकलन गरी महँगो मूल्यमा बिक्री गर्दै आम्दानी गरिरहेका छन्।
स्थानीयहरूका अनुसार सम्शेरगंज जंगलबाट पहेंलो, खुट्टे, फुटकी, भेम्टे लगायतका दर्जनौं प्रजातिका च्याउ ल्याइन्छ। च्याउ पारखीहरू स्वादको लोभले काठमाडौंसम्म कोसेली पठाउने गरेका छन्।

तर, जंगली च्याउको स्वास्थ्य जोखिमका बाबजुद यसको बिक्री खुलेआम भइरहेको छ। दैनिक बिरामी पर्ने र केहीको मृत्युसमेत हुने घटनाबीच पनि गुणस्तर परीक्षण गर्ने सरकारी निकाय मौन छ। च्याउ विषाक्त छ वा छैन भन्ने छुट्याउन कठिन छ, र पकाउँदा पनि विष ननष्ट हुने खतरा रहन्छ।

नेपालगंज बजारका चोकचोकमा जंगली च्याउ बिक्रि भइरहे पनि निगरानी गर्ने निकाय सक्रिय देखिँदैन। बजारमा व्यावसायिक रूपमा उत्पादन भएका सुरक्षित च्याउ सस्तोमा पाइँदा पनि जंगली च्याउ महँगो मूल्यमा बेचिँदै आएको छ।

विशेषज्ञहरूका अनुसार च्याउमा प्रोटिन, भिटामिन, क्याल्सियमलगायत पौष्टिक तत्व प्रशस्त पाइिन्छ, तर जंगली च्याउको पहिचान र सुरक्षित उपभोगमा गम्भीरता नअपनाए ज्यान जोखिममा पर्न सक्छ। यस विषयमा प्रशासन र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता बढेको छ।
प्रतिक्रिया राख्नुहोस्