तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा

भैरहवा (रुपन्देही) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ । 

भैरहवाको रमादा होटलमा अहिले जारी बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू सहभागी हुनुहुन्छ ।

संसद्को चालु अधिवेशनको समीक्षा, ‘कुलिङ अफ पिरियड’, संवैधानिक निकायको कामकारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । “अहिले संसद्मा जारी संसदीय गतिविधिको समीक्षा, ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्तापक्षले सुनुवाइ नगरेकोलगायत बहुआयामिक पक्षमा छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो । 

सञ्चारकर्मीसँगको कुराकानीमा परियारले संसद्जस्तो सार्वभौम कानुन निर्माण गर्ने विधायिकामा पनि कार्यपालिकासहित पार्टीको हस्तक्षेपका विषयमा छलफल गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा निजामती सङ्घीय विधेयकमाथिको ‘कुलिङ अफ पिरियड’ का बारेमा पनि छलफल गर्नेछौँ ।”

रास्वपाले गरिरहेको हस्ताक्षर अभियानमा केन्द्रीय नेता तथा सांसदहरू भैरहवा आउनुभएको जनाउँदै परियारले लुम्बिनीमा पार्टीको समग्र संरचना निर्माण गर्ने, रुपन्देही ३ मा हुने उपनिर्वाचनलगायत समयसापेक्ष विषयमा छलफल हुने बताउनुभयो ।

उहाँका अनुसार बैठकमा विशेष गरी बजेट अधिवेशनमा पार्टीको भूमिका, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुनेछ । यसअघि रास्वपाले संसदीय दलको बैठक काठमाडौँ बाहिर गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button