तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकार परिवर्तनको कुनै प्रयास गरिएको छैन’

विराटनगर। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफूले कहिले पनि  सरकार परिवर्तन गर्न नखोजेको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सँग कुराकानी गर्नुहुँदै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र  पूर्व राष्ट्रपति विद्या भण्डारीलगायतका नेताहरूसँगको भेटघाट सामान्य राजनीतिक भेट मात्र भएकाले यो भेटघाटलाई सरकार परिवर्तन गर्ने कुरासँग जोड्न नमिल्ने बताउनुभयो । 

उहाँले विद्या देवी भण्डारी राष्ट्रपति हुँदा वा पूर्व राष्ट्रपति हुँदा उहाँलाई जहिले पनि आफूले भेट्ने गरेको र नेपाली काँग्रेस र नेकपा माओवादीको संयुक्त सरकार हुँदा पनि आफूले एमाले अध्यक्ष केपी सर्मा ओलीलाई पटक पटक  भेट्ने गरेको प्रसङ्ग उल्लेख गर्दै यस्ता कुरालाई स्वाभाविक रूपमा लिन आग्रह गर्नुभयो ।    

  नेता कोइरालाले यो सरकार ०८४ सालको चुनाव सम्म जानुपर्छ भन्नुहुँदै त्यसका लागि  वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो । दुई ठुला दलको संयुक्त सरकार बन्दा भएको सात बुँदे सहमति अनुसार सरकार चल्नुपर्ने उहाँको भनाई थियो ।

संविधान संशोधन वा पुनरावलोकनका लागि सरकारले काम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सुशासनको विषयमा काङ्ग्रेसभित्र आफूले जति अरू कसैले नबोलेको जिकिर गर्दै उहाँले राजनीतिक गर्ने व्यक्तिमा  नैतिकता नहुने हो भने मुलुक धरापमा पर्ने बताउनुभयो ।

डा.कोइरालाले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक सङ्ख्या नपुगेको भन्दै अहिले यस विषयमा कसैले चिन्ता लिनु आवश्यक नभएको बताउनुभयो ।

 नेपाली काँग्रेसको महाधिवेशन २०८२ मै हुनुपर्नेमा आफू सो कुरमा अहिले पनि अडिग रहेको भन्नुहुँदै नेता कोइरालाले त्यसमा तलमाथि हुन नहुने बताउनुभयो ।

पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरू राजनीतिमा फर्किनु राम्रो नहुने धारणा राख्नुहुँदै नेता कोइरालाले नेपालको संविधानको उहाँहरूलाई  जे गरे पनि हुने भन्ने व्यवस्था गरेकाले  कानुनी रूपमा भने उहाँहरूलाई रोक्न नमिल्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button