तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीका मुख्यमन्त्री लामा संसदीय दलको नेताबाट पदच्युत, राजीनामा नदिने अडान

मकवानपुर । बागमती प्रदेश काँग्रेस संसदीय दलमा पछिल्ला दिनमा देखिएको आन्तरिक विवाद आज एक निर्णायक मोडमा पुगेको छ । संसदीय दलको बैठकमा मङ्गलवार भएको मत विभाजनमा मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुर सिं लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा मात्र १५ मत परेको छ । यस मत परिणामसँगै लामा संसदीय दलको नेताको पदबाट पदच्युत हुन पुग्नु भएको छ । 

बागमती प्रदेशमा काँग्रेस भित्रको विवाद पछिल्लो समय लगातार बढ्दै गएको र संसदीय दलको नेतृत्वलाई लिएर दुवै पक्षबीच तिक्त प्रतिस्पर्धा चलिरहेको थियो । दलभित्र गहिरो विवादकै कारण मुख्यमन्त्री लामा विरुद्ध गत शुक्रवार अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो र आजको मत परिणामले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।  पछिल्लो घटनाक्रमले काँग्रेस बागमती प्रदेश संसदीय दलमा दुई स्पष्ट धार देखिएको छ । एकातर्फ प्रदेश सभापति इन्द्रबहादुर बानियाँको पक्षमा रहेका २२ सांसद छन् भने अर्कोतर्फ लामाका पक्षमा रहेका १५ सांसद हुनुहुन्छ । 

मुख्यमन्त्री लामाले संसदीय दलको नेताको पद गुमाए पनि प्रदेश मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिनु भएको छ । “संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,” उहाँले भन्नुभयो, “सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन ।” आफू विरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि दलको नेता रिक्त भएकाले नेता चयन प्रक्रिया अब सुरु हुने उहाँले बताउनुभयो ।

यता संसदीय दलको उपनेता रामकृष्ण चित्रकारले आगामी दलको नेताको निर्वाचनमा एकल उम्मेदवारी नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सभापति बानियाँलाई सर्वसम्मत नेता बनाउने प्रयास हुनेछ तर हाम्रो समूहले पनि उम्मेदवारी दिने तयारी गरेको छ । संसदीय दलमा स्पष्ट दुई धार छन् र दुवै पक्षबाट उम्मेदवार उत्रने निश्चित छ ।” सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “हामीले आन्तरिक छलफलबाट उम्मेदवार चयन गर्नेछौँ र त्यसमा मुख्यमन्त्री बहादुर सिंह लामाको पनि चासो हुन सक्छ । उहाँ आफूले चाहे उम्मेदवार बन्न सक्नुहुन्छ ।” यसले आगामी निर्वाचन प्रक्रियामा काँग्रेस बागमती प्रदेश संसदीय दलमा प्रतिस्पर्धा कडा हुने देखिन्छ ।

संसदीय दलमा भएको मत विभाजनले काँग्रेसको आन्तरिक विवादलाई मात्र होइन, बागमती प्रदेश सरकारको स्थायित्वलाई समेत चुनौती दिएको छ । प्रदेश सरकारमा रहेका मन्त्रीहरूको एकपछि अर्को राजीनामा र पदमुक्तिको घटनाले पनि राजनीतिक अस्थिरता झल्काएको छ । मुख्यमन्त्री लामाका सरकारमा सहभागी चार जना मन्त्रीहरू आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा यसअघि गत शुक्रवार दिनुभएको थियो । भने मङ्गलवार (आज) खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लामाले चारै मन्त्रीलाई पदमुक्त समेत गरिसक्नु भएको छ । 

विश्वासको पक्ष र विपक्षमा समर्थन गर्ने सांसदहरु

प्रतिक्रिया राख्नुहोस्

Back to top button