तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको अवलोकन गर्नुभएको छ । 

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का  अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले भक्तजनले सहज रूपमा मूल मन्दिरभित्र प्रवेश पाए/नपाएको, सुरक्षा व्यवस्थालगायत विषयमा कोषका पदाधिकारी एवं कर्मचारीसँग जानकारी लिनुभएको थियो । 

कोषका सदस्य सचिव एवं कर्मचारीलाई उहाँले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । 

साउन महिनाको दोस्रो सोमबार आज पनि बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए । यस्तै, चार वटा सवारीसाधनमार्फत चक्रपथबाट पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई दिनभर निःशुल्क सेवा दिइएको कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।

बिहानदेखि दिनभर साउने झरी परिरहे पनि भक्तजनले छाता ओढेर भए पनि पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका थिए । बेलुकी ७ः०० बजेसम्म करिब एक लाख ५० हजार भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र  दर्शन गरेको अनुमान रहेको सदस्य सचिव जोशीले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button