जनता आवास कार्यक्रम अन्तर्गत ४ हजार ३ सय ६६ घर निर्माण
विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा हालसम्म ४ हजार ३ सय ६६ घर निर्माण भएका छन् ।

आर्थिक वर्ष ०७५–०७६ देखि सुरु भएको सो कार्यक्रम अन्तर्गत मोरङमा १ हजार ६ सय ४४ सुनसरीमा १ हजार ४ सय ५१ तथा उदयपुर जिल्लामा १ हजार २ सय ३१ घर निर्माण भएका छन् ।
जनता आवास कार्यक्रम मोरङका फोकल पर्सन एवं सब–इन्जिनियर ओम शर्माका अनुसार, सङ्घको क्रमागत योजना अनुसार कोशी प्रदेशलाई हस्तान्तरण भएका तथा प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत उक्त सङ्ख्यामा घरहरू निर्माण भएका हुन ।
लाभग्राहीले एउटा घर निर्माणका लागि कन्सलटेन्सी सहित तिन लाख ५० हजार रुपियाँ पाउने व्यवस्था छ । जसमध्ये लाभग्राहीको १० प्रतिशत लागत सहभागिता हुनुपर्ने छ । घर निर्माण सुरु भएपछि निर्माण प्रगति हेरेर लाभग्राहीले किस्ता किस्तामा रकम पाउने व्यवस्था छ ।
कार्यक्रम अन्तर्गत, आर्थिक रूपले विपन्न दलित, मुस्लिम, सीमान्तकृत तथा लोपोन्मुख समुदायको सुरक्षित बसोबासका लागि जस्ताको छाना, इँटा, काठ, तथा फलाम र बासको प्रयोग गरेर दुई कोठे घर निर्माण गरिएका छन् ।
कोशी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकारले ल्याएको सो कार्यक्रम अन्तर्गत हाल सम्म मोरङमा ७५, सुनसरीमा ७६ र उदयपुर जिल्लामा ४० वटा घर निर्माण भएका छन् ।
त्यसैगरि मोरङमा ७१ र सुनसरीमा ३७ घर निर्माणाधीन अवस्थामा छन् । सबै घर चालु आर्थिक वर्षमा सम्पन्न हुने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्