तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे स्वदेश फिर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक साता चीन भ्रमण सम्पन्न गरी आज (सोमबार) पोखरा फर्कनुभएको छ । 

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुभई उहाँ आज स्वदेश फर्किनुभएको उहाँको सचिवालयले जनाएको छ । 

भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव महामहिम वाङ झुंगजुनसँग भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा उहाँले गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गर्दै नेपाल–चीनबिच व्यापार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव राख्नुभएको टोलीमा सहभागी एवं मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले बताउनुभयो । 

उहाँले चीन सरकारले विभिन्न समयमा गर्दै आएको सहयोग र अनुदानमा निर्माण भएका पूर्वाधार, पर्यटन प्रवर्द्धनका गतिविधिले गण्डकी प्रदेशसँगको सम्बन्ध थप प्रगाढ भएको उल्लेख गर्दै आगामी दिनमा अझ सुदृढ सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । 

महामहिम वाङ झुंगजुनले गण्डकी प्रदेशको प्रयासबारे जानकारी रहेको बताउँदै कोरला नाकालाई व्यवस्थित बनाउन दुवै पक्षबिचको सहकार्य राम्रो अवसर हुन सक्ने र यसबारे तिब्बत सरकार पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले पर्यटन, कृषि, उद्योग लगायत क्षेत्रमा पनि तिब्बत सरकार सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button