तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ र गोरखामा एचए पढाई हुने

कास्की । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताउनु भएको छ । उहाँले  मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको जानकारी दिनुभयो  ।

परिवार नियोजन सङ्घको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताउनुभएको हो । उहाँले  प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिनुभयो ।

उहाँले  परिवार नियोजन सङ्घसँग मिलेर सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रजनन स्वास्थ्यका कार्यक्रम गर्दै जाने बताउनु भयो । मन्त्री पाठकले आगामी नीति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यबारे कार्यक्रम ल्याउने पनि आश्वासन दिनुभयो ।

कार्यक्रम उपस्थित गण्डकी प्रदेशसभाका सदस्यहरूले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरूले सामान्य तथा कुनै पनि विपद्का बेलामा पनि गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनाको पहुँच पुर्‍याई विद्यमान शिशु, बाल तथा मातृ मृत्युदरलाई न्यूनीकरण गर्न र परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न प्रतिबद्धता जनाए ।

यस्तै, परिवार नियोजन सङ्घ र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा यस प्रदेशलाई आवश्यक बजेट पर्ने बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने, प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी नीतिहरूको तर्जुमा र परिमार्जन गरी अझ व्यावहारिक रूपमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गराउने सन्दर्भमा  सांसदहरूले प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button