तपाईँ सुन्दै हुनुहुन्छः

डिपबोरिङका लागी अवैध ‘हुकिङ’ नगर्न प्राधिकरणको चेतावनी

एक साताभित्र मिटर जडान नगर्नेको विद्युत् लाइन काटिने

वीरगन्ज । पर्सा जिल्लामा डिपबोरिङ मार्फत खानेपानी तान्ने क्रममा विद्युत् पोलबाट अवैध रूपमा ‘हुकिङ’ गरी विद्युत् प्रयोग गर्ने प्रवृत्ति बढेपछि नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरणले एक साताभित्र सार्वजनिक स्थानमा मिटर जडान नगर्नेको लाइन काट्ने चेतावनी दिएको छ ।

वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले खानेपानी तथा सिँचाइका लागि अब अनिवार्य रूपमा मिटर जडान गर्नुपर्ने बताउनुभयो । उहाँले उपभोक्ता समितिहरूले आवश्यक कागजातहरू लिएर आएमा २४ घण्टाभित्र मिटर जडान गरिदिने व्यवस्था मिलाइएको जानकारी दिँदै अवैध हुकिङ कार्य अब सह्य नहुने बताउनुभयो ।

प्रमुख दुवेले हुकिङका कारण विद्युत् प्रणालीमा ओभर ट्रिपिङ, सर्टसर्किट र विद्युत् चुहावट हुने खतरा रहेकाले यसले सम्पूर्ण क्षेत्रको विद्युत् आपूर्तिमा असर पर्ने बताउनुभयो । बाहाँले वीरगन्जमा मात्रै झन्डै २ सय ५० भन्दा बढी डिपबोरिङ विद्युत् पोलबाट सिधै अवैध रूपमा ‘हुकिङ’ गरी विद्युत् प्रयोग गरेको भेटिएको हुँदा सार्वजनिक स्थलमा मिटरविना चलाइएका डिपबोरिङ लाइनहरू एक साताभित्र हटाइने चेतावनी दिनुभयो । 

यसै सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नगरवासीलाई विद्युत् मिटर जडान गरेर मात्र डिपबोरिङ सञ्चालन गर्न आग्रह गर्दै मिटर प्रयोग गरेमा विद्युत् प्रयोग कानुनी ढङ्गले हुने र अन्य प्राविधिक जोखिमबाट पनि बच्न सकिने र सेवा पनि नियमित हुने बताउनुभयो ।

विद्युत् प्राधिकरणले अवैध हुकिङविरुद्ध स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी कडाइका साथ निगरानी र कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । स्थानीय उपभोक्तालाई छिटोभन्दा छिटो मिटर जडान गरी कानुनीरूपमा विद्युत् सेवा उपभोग गर्न प्राधिकरणले पुनः अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button