अमरगढी किल्लामा नयाँ कोतघर निर्माण हुँदै
डडेल्धुरा । डडेल्धुराको ऐतिहासिक अमरगढी किल्लामा नयाँ कोतघर निर्माण कार्य सुरु भएको छ । पुरानो कोतघर जीर्ण भएर भत्किन थालेपछि नयाँ कोतघर निर्माण हुन लागेको हो ।

सन १८४७ मा गोर्खाली सेनापति अमरसिंह थापाले निर्माण गराएको अमरगढी किल्ला तत्कालीन कुमाउँ युद्ध र नेपाल राज्य विस्तारका लागी निर्माण गरिएको थियो । अमरगढी नगरपालिका –५ खलङ्गामा स्थापना गरिएको किल्लालाई पुरानै स्वरूपमा निर्माण गर्ने गरी काम थालनी भएको छ ।
नयाँ निर्माण भइरहेको कोत घरमा तत्कालीन युद्धमा प्रयोग भएका हतियार, अभिलेख, तस्बिर, र किल्लासम्बन्धी पुस्तकहरू समेत राखिने जनाएको छ । किल्लाको भित्री र बाहिरी भागका ढुङ्गाका संरचनाहरूलाई यथासम्भव पुरानै बनावटमा पुनर्निर्माण गर्ने गरी काम थालनी भएको अमरगढी नगरपालिका वडा न-५ का वडा अध्यक्ष टंकबहादुर क्षत्रीले जानकारी दिनुभएको छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एक कार्यक्रमका बिच पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । निर्माण कार्य सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीको प्राविधिक सुपरिवेक्षणमा करिब १ करोड ५० लाख रुपैयाँको लागतमा अमरगढी नगरपालिका र अर्जुन बाण गण डडेल्धुराको प्रत्यक्ष निगरानीमा भइरहेको छ।
इतिहासका जानकारहरूका अनुसार अमरगढी किल्ला अमरसिंह थापाद्वारा कुमाउँ आक्रमणका लागी युद्ध रणनीति, सुरक्षा र प्रशासनिक रूपमा भवन निर्माण गरिएको थियो । डडेल्धुरा सदरमुकामबाट एक किलोमिटर दुरीमा रहेको उक्त किल्ला ऐतिहासिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिए आन्तरिक र बाह्य पर्यटकको आगमन हुने अनुमान गरिएको छ ।

ऐतिहासिक किल्लाका रूपमा रहेको अमरगढी भित्र पुराना हातहतियार, गोला बारुद,तोपहरू खुकुरी भाला लगायतका महत्त्वपूर्ण हातहतियार गायब रहेका छन् । मुलुकमा द्वन्द्व भएका बेला जिल्लाको सुरक्षाका लागी सेनाको फौज बसेको थियो । सेनाको टोली शान्ति प्रक्रियापछि दह ब्यारेक गएपछि उक्त किल्ला अमरगढी नगरपालिकाको मातहत रहँदै आएको थियो । उक्त हातहतियारहरूको खोजी गर्ने काम भइरहेको भए पनि तत्कालीन रूपमा ती हातहतियार सेनाको टोलीले विभिन्न ठाउँहरूमा पुर्याएकाले खोजी कार्यमा समस्या आइरहेको बताइएको छ । अहिले उक्त किल्लाको संरक्षणका लागी अमरगढी नगरपालिका मातहत समुदाय स्तरबाट संरक्षण विकास समिति गठन गरेर रेखदेख भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्