सुदुरपश्चिमका रानाथारु समुदाय आज तिज मनाउँदै
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदाय आज तिज मनाइरहेका छन् ।
रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तिज मनाइरहेका हुन् । दिनभरि निराहार व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ । श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरिएको धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका पूर्व भलमनसा सन्तराम रानाले बताउनुभयो ।

अन्य समुदायका महिलाले आफ्नो श्रीमानका दीर्घायुका लागि तीज व्रत बस्ने गरे पनि रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको लामो आयु र सुस्वास्थ्यका लागि व्रत बस्ने गरेका जनाइएको छ । तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गई पूजा गर्ने चलन रहेको पूर्व प्रदेश सभा सदस्य मालामती रानाले बताउनुभयो ।
रानाका अनुसार सावनको डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर व्रतालु महिलाहरूले नदीमा लग्ने गर्दछन् । यस्तै, झुरकी (कुसको गाँठो) बनाएर पनि लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गर्दछन् ।
तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाइहरूले व्रतालुहरूलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने प्रचलन रहेको धनगढी गाउँका स्थानीय शिवराज रानाले जानकारी दिनुभयो ।
तीजको केही दिन अगाडिदेखि नै गाउँ गाउँमा सावन डोलामा रमाउने चलन रहेको छ । तीज सकिएपछि पनि महिलाले सामूहिक रूपमा सावन डोलामा पिङ खेलेर रमाउने गरेको जनाइएको छ । रानाथारु तीजको अवसरमा धनगढी उपमहानगरपालिकासहित कैलाली, कञ्चनपुरका पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्