पानी नपर्दा वीरगन्जसहित तराई–मधेशमा अत्यधिक गर्मी
वीरगन्ज । लामो समयदेखि पानी नपर्दा वीरगन्जसहित तराई–मधेशमा गर्मी अत्यधिक बढेको छ । चर्को गर्मीले यहाँको जनजीवन कष्टकर बनेको छ ।

गर्मीका कारण सर्वसाधारण दिउँसो घरबाट निस्कन सकेका छैनन् । सहनै नसक्ने गर्मीले सबैभन्दा बढी किसान मजदुर तथा विद्यार्थी प्रभावित बनेका छन् । गर्मीले साँझसम्म चोक बजार सुनसान हुन थालेका छन् ।
आज वीरगन्जमा ३७ डिग्री सेल्सियस तापक्रम पुगेको छ । वीरगन्जका स्थानीय भानु अधिकारीका अनुसार गर्मीले सबैभन्दा बढी मजदुर, किसान तथा विद्यार्थीहरू प्रभावित बनेका छन् । ‘लामो समय भइसक्यो पानी नपरेको, जसले गर्मीको सीमा पार गरेको छ, हावा नचलेर हुप्प भएको बेला पसिनाले शरीर नै भिज्ने गरेको छ,’ उहाँले बताउनुभयो ।
गर्मी बढेपछि सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप कम हुन पुगेको छ । अति आवश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्कनै छाडेका छन् ।
चर्को घाम र गर्मीले खेतबारीमा टिक्न नसक्ने अवस्था रहेको ठोरी गाउँपालिका–२ का पूर्व बाडा अध्यक्ष राम प्रकाश कुँवरले बताउनुभयो ।
गर्मी बढेपछि निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । टाउको दुख्ने, डायरिया, रुघाखोकी तथा ज्वरो लगायतका सङ्क्रमण भई अस्पतालमा बिरामी आउने सङ्ख्या बढिरहेको नारायणी अस्पताल वीरगन्जका चिकित्सकहरूले जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्