तपाईँ सुन्दै हुनुहुन्छः

छिन्दु खोलामा पुल निर्माणपछि गुम्बा गाउँको आवागमन सहज

बाजुरा । बाजुराको हिमाली गाउँपालिका-३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । 

ज्यानमारा खोलाका रूपमा परिचित उक्त खोलामा निकै लामो समयको प्रयासपछि झोलुङ्गे पुल निर्माण भएको गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुभयो । 

बाजुराको सर्वाधिक विकट मानिने गुम्बा गाउँ जाने बिच बाटोमा पर्ने छिन्दु खोलामा सहरी विकास मन्त्रालय अन्तर्गत, स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माण गरेको हो । कार्यालयले पुल निर्माणका लागि १ करोड २८ लाख ९ हजार ९ सयमा ठेक्का गरेको र जगदम्बा, सुर्मा सरोवर जेभीले ८४ लाख ७५ हजार १ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सम्पन्न गरेको स्थानीय पूर्वाधार विकास आयोजना कैलालीका सब इन्जिनियर दीपक पन्तले बताउनुभयो ।सडक पहुँचबाट सामान ढुवानी गर्न चार दिन भन्दा बढी समय लाग्ने गरेको थियो, निकै कठिनाइका बिच पुल निर्माण गर्न सफल भएको दीपक पन्तको भनाइ छ ।

विगतमा उक्त खोला तर्ने क्रममा स्थानीय बगेर बेपत्ता हुने गरेको खोलामा पुल निर्माण हुँदा स्थानीय निकै खुसी भएका छन् । सो खोलामा १० वर्षमा ७ जना बगेर बेपत्ता हुनुभएको थियो भने भेडा, च्याङ्ग्रा, गोरु, भैँसी कति बगे कुनै तथ्याङ्क छैन स्थानीय जगत लामाले भन्नुभयो ।

गुम्बा गाँउमा २६ परिवार र लाम्पाटा गाउँमा १२ परिवार बसोबास गर्ने गरेका छन् । छिन्दु खोलामा पुल नहुँदा वर्षातका ४ महिना गुम्बा र बाजुराको सम्पर्क विच्छेद नै हुने गरेको थियो । पुल निर्माण पछि भने स्थानीयलाई आवतजावतका लागि निकै सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button