तपाईँ सुन्दै हुनुहुन्छः

तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक-२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरूले विश्वविद्यालयले नेपालको आँखा स्वास्थ्य सेवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

सांसदहरूले विश्वविद्यालयले उच्च शिक्षा अध्ययनका लागि बिदेसिने युवालाई नेपालमै रोक्न सहयोग पुर्‍याउने, आँखा उपचारमा प्रयोग हुने उपकरणहरूको उत्पादन र विकासका लागि अध्ययन अनुसन्धान पनि विश्वविद्यालयमार्फत हुने र यसले नेत्र रोगको उपचारलाई सस्तो र सुलभ बनाउन समेत सहयोग पुग्ने बताउनुभयो । 

यस्तै प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठन भएको विशेष संसदीय छानबिन समितिको म्याद एक हप्ता थप गर्न सहमति जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले छानबिन समितिबाट कार्यविधि थप गर्न माग भई आए बमोजिम सात दिन थप गर्ने प्रस्ताव गर्नुभएको थियो ।

सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी राज्य व्यवस्था तथा सुशासन  समितिको प्रतिवेदनमा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिबारे अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाको असार २३ गतेको बैठकले विशेष समिति गठन गरेको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते सोमबार दिनको १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button